बालेन्द्र शाहको उदय दलतन्त्र र नेतातन्त्रप्रति बढ्दै गएको असन्तुष्टिको प्रत्यक्ष परिणाम हो । २०७९ सालको स्थानीय तह निर्वाचनमा ६१ हजार ७ सय ६७ मतसहित काठमाडौं महानगरको मेयर निर्वाचित हुँदा उनले केवल चुनाव जितेका थिएनन् । उनले स्थापित राजनीतिक संरचनामाथि प्रश्न उठाउँदै वैकल्पिक नेतृत्वको खोजलाई मूर्त रूप दिएका थिए । त्यो मत कुनै संगठित वैचारिक आन्दोलनको परिणाम थिएन । त्यो मत कुनै दीर्घकालीन राजनीतिक संघर्षको निरन्तरता पनि थिएन । त्यो मत मूलतः थाकेको समाजको आवेग, वितृष्णा र आक्रोशको अभिव्यक्ति थियो ।



