Admission Open

भूपूसैनिकको पेन्सन क्याम्प शुरु 

जिल्लामा पेन्सन क्याम्प शुरु भएको छ । कोरोना भाइरस महामारीका कारण रोकिएको क्याम्प एक वर्षपछि सोमबारदेखि केही दिनका लागि शुरु भएको हो । यस पटकको क्याम्पमा भारतीय सेना र विभिन्न संस्थाबाट अवकासप्राप्त भूपूसैनिकहरुको उल्लेख्य उपस्थिति रहेको छ । प्रत्येक छ महिनामा हुँदै आएको क्याम्प एक वर्षको अन्तरालमा चलेको हो । “कोभिड महामारीका कारण अघिल्लो पटक क्याम्प बस्न सकेन”, भारतीय सेनाका ले। क। सुशान्त त्रिपाठीले भन्नुभयो, “अध्यावधिका लागि यस पटक क्याम्प सञ्चालन गर्ने निधोमा पुग्यौँ ।”

केही वर्षपहिले क्याम्पबाट भूतपूर्वहरुले पैसा नै बोकेर जान्थे तर अहिले भने पेन्सनर ज्युँदै रहेको, मृत्यु भएको, परिवारले पाउने पेन्सनको विषयमा जानकारी र मृतकको पेन्सनपट्टा दाखिलाको काम भइरहेको छ । “कोरोना महामारी भनेर हामीले छ महिनामा हुने क्याम्प रोकेका थियौँ, अहिले सडकभरि मान्छे भएपछि क्याम्प रोक्नुपर्ने देखिएन”, त्रिपाठीले भन्नुभयोे, “यो नियमित प्रक्रिया हो ।” लामो समयपछि क्याम्प चलेकाले अधिकांश भूतपूर्वसैनिकहरु भेला भएका छन् । बागलुङ नगरपालिका–३ गुठीमा भूपूहरुको ठूलो भीड लागिरहेको छ ।

एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकमा खोलिएका खातामार्फत प्रत्येक महिना निवृत्तिभरण पाउनेहरुको खातामै रकम जाने भएकाले पेन्सन क्याम्पमा भूतपूर्वहरुको चाप भए पनि आर्थिक चाप छैन । फागुनको १० गतेदेखि शुरु भएको क्याम्प फागुनको १४ गतेसम्म चल्ने जिल्ला सैनिक बोर्ड बागलुङका सेक्रेटरी गोपालसिंह थापाले बताउनुभयो ।

सदरमुकाम बागलुङमा रहेको क्याम्पबाट करीब रु ८० करोड वितरण हुन्थ्यो तर गत वर्षदेखि भने बैंक खातामै रकम जम्मा हुने भएकाले रकम वितरण भने क्याम्पमा हुने छैन । सैनिक बोर्डका अनुसार साविकको धौलागिरि अञ्चलमा आठ हजारभन्दा धेरै पेन्सनर रहेका छन् ।

भारतीय सेना र भारतका विभिन्न सङ्घसंस्थाबाट अवकासप्राप्त भूपूलाई पेन्सन दिनका लागि हरेक वर्ष नवीकरण गर्ने प्रक्रिया छ । बैंक खातामा पेन्सन आउने भए पनि पेन्सनरहरु भने लाइन लाग्ने गरेका छन् । “हरेक अङ्ग्रेजी महिनाको अन्तिम दिन पेन्सन खातामा आउँछ”, थापाले भन्नुभयो, “खातामा रहेको रकम जहिले पनि निकाल्न मिल्छ तर भीडभाड हुने गरेको छ ।” पेन्सन खातामा जम्मा भएको रकममा ब्याज प्राप्त हुने भए पनि पेन्सनरहरुले नबुझेका कारण बैंकमा भीडभाड हुने गरेको थापाको भनाइ छ ।

बागलुङमा क्याम्प बस्ने बेला नवीकरण नभएमा पोखरा पुग्नुपर्ने भएकाले पनि धेरै भीड हुने गरेको त्रिपाठी बताउनुहुन्छ । “विशेष गरेर पेन्सनरको मृत्यु भयो र उहाँको श्रीमतीका नाममा नामसारी गर्नुपर्ने भएमा क्याम्पले धेरै सहयोग गर्छ”, उहाँले भन्नुभयो, “कागजी सबै काम हामी मिलाउँछौँ, पेन्सन सबैको खातामै जम्मा हुने व्यवस्था भएको छ ।”

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...