Admission Open

‘साक्षात् भगवान् भेटे झैँ लाग्यो’

छोरा सन्तोष नेपाली कक्षा छ मा पढ्दै गर्दा श्रीमानको अकालमा मृत्यु भएपछि कसरी शिक्षादिक्षा दिएर हुर्काउने होला भन्ने चिन्ताले सधैँ सताइरहन्थ्यो जुठीमायालाई । पढ्नका लागि घरको आर्थिक अवस्था पनि कमजोर । बिहान बेलुकाको छाँक टार्न ज्याला मजदूरी गर्नुपर्ने बाध्यता थियो । जिल्लाको व्यास नगरपालिका–१२ भडखालास्थित मत्स्यकन्या आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययन गर्न थालेदेखि सिर्जनशील बाल विकास कार्यक्रम पोखराले पढाई खर्चमा सहयोग गर्दै आएपछि मनै प्रफुल्ल भएको जुठीमाया बताउनुहुन्छ ।

कक्षा ३ देखि कक्षा ७ सम्मको उक्त विद्यालयमा अध्ययनपश्चात सन्तोषले एसइईसम्मको अध्ययन सत्यवती माध्यमिक विद्यालयबाट गरेका थिए । एसइई पास गरेपछि अहिले सन्तोषले बुटवलस्थित बुटवल टेक्निकल इष्टिच्युट मेकानिकल विषय लिएर चौबिस महिने कोर्ष अध्ययन गर्दै छन् । प्राथमिक तहदेखि छात्रवृत्ति सुविधा प्राप्त गर्दै आएका व्यास नगरपालिका–१ का सन्तोषलाई उक्त संस्थाले छात्रवृत्तिबापत आइतबार रु ३० हजारको चेक उनकी आमा जुठीमायालाई आर्थिक सहयोग गरेका छन् । उक्त संस्थाले चौबिस महिनासम्म सहयोग गर्ने प्रतिबद्धता जनाएपछि उहाँलाई ठूलो राहतको महसुस भएको छ । चेक लिँदै गहभरी आँसु झार्दैै जुठीमायाले भन्नुभयो, “उक्त संस्थाले छोराको अध्ययनका लागि सहयोग गर्छौं भनेपछि साक्षात् भगवान् भेटे जस्तो लाग्यो”, संस्थाका संस्थापक निर्देशक शङ्कर पन्थ, फिल्ड सुपरभाइजर नवराज गिरी, सोही विद्यालयका प्रधानाध्यापक ललित पाण्डेले संयुक्तरुपमा उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । त्यसैगरी उच्च शिक्षा हासिल गर्दै आएका भरत पन्थलाई पनि सोही अवसरमा रु छ हजार आंशिक छात्रवृत्ति प्रदान गरिएको छ ।

केन्द्रीय कार्यालय पोखरा रहेको उक्त संस्थाले हाल कास्की र तनहुँलाई आफ्नो कार्यक्षेत्र बनाएर शिक्षा, आयआर्जन र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ । विशेषगरी शैक्षिक सामग्री, पोशाक र शुल्क तिर्न नसकेर विद्यालय जान छाडेका गरीब तथा सिमान्तकृत समुदायका बालबालिकालाई सहयोग गर्दै आएको फिल्ड सुपरभाइजर गिरीले बताउनुभयो । विसं ०६९ चैत १८ गतेदेखि औपचारिकरुपमा काम अघि बढाएको उक्त संस्थाले हालसम्म समुदायमा बसेर अध्ययन गर्ने २५० बढीलाई आंशिक छात्रवृत्ति प्रदान गरिसकेको कार्यक्रमका निर्देशक पन्थले जानकारी दिनुभयो ।

अहिले १६० जना बालबालिकाले समुदायमा बसेर आंशिक छात्रवृत्ति सुविधा लिँदै आएका छन् । उहाँले भन्नुभयो, “हालसम्म पूर्ण छात्रवृत्तितर्फ ३४ जनाले उक्त सुविधा लिइसकेका छन् । संस्थाद्वारा हाल १५ बालबालिका बालगृहमा र चार उमेरहद नाघेका कारण समुदायमा बसेर उच्च शिक्षा हासिल गर्दै आएका छन् ।”

संस्थाले आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित बालबालिकालाई अध्ययनका लागि गरेको सहयोग प्रशासनीय कार्य भएको प्रधानाध्यापक पाण्डेले बताउनुभयो । छात्रवृत्ति सहयोग गर्दै आएका बालबालिकाको परिवारमा आयआर्जन वृद्धि गराउने उद्देश्यले फलफूलका बिरुवा, कुखुरा, बाख्रापालन कार्यलाई प्रोत्साहन गर्न थालिएको छ । त्यसैगरी समुदायमा बालबिवाह, बहुविवाहसम्बन्धी सचेतना पनि प्रदान गर्दै आएको कार्यक्रमका संस्थापक निर्देशक पन्थले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...