Admission Open

टुहुरी चेली

कथा

# होमनाथ खनाल
म तेह्र वर्षको भएको थिएँ, मेरो स्कूल पनि घर नजिकै थियो । नौ कक्षामा पढ्दै थिएँ । स्कूलमा मेरो नाम वशन्ती थियो भने घरमा बोलाउँदा बबी भन्नुहुन्थ्यो । पहाडको गाउँ भिरालो जमिन घरमाथि भनौँ वा गाउँकै माथि ठुलो पहरा र ठुलाठुला ढुङ्गा थिए सँगै सानो खोलोे पनि थियो । त्यही खोलामा जहिल्यै पानी आईरहने हुनाले खेतीपाती गर्न सजिलो थियो । भिरालो भएरै होला गाउँको नामनै भीरगाउँ थियो ।
हाम्रो घर परिवारमा बा, आमा, दाजु र चारजनाको परिवार थियो । दाइ एस.एल.सी पास गरेर यही गाउँको स्कुलमा पढाउनु हुन्थ्यो । हामीलाई खान लाउन र घर खर्च गर्न कुनै समस्या थिएन ।
एकदिन बेलुका खाना खाएर दाजु र म अगेनाको छेउमा बसेका थियौँ । आमा माथ्लोतलामा सुत्न गईसक्नु भएको थियो । बा भने हामीलाई रामायणको श्लोक सुनाउँदै हुनुहुन्थ्यो । बाहिर पानी झमझम परिरहेको थियो । अघिल्लै दिनदेखि अविरल वर्षा भइरहेको थियो । हामी घरभित्रै थियौँ । त्यसैबेला अचानक एउटा ठुलो आवाज आयो । म कुदेर बाहिर निस्किएँ । हेर्दा त घरदेखि माथि भीरको ठुलो ढुङ्गा त लड्दै घर छेउमै आईरहेको जस्तो देखेँ । म अर्काे साइडतिर भाग्दै बा, आमा भाग्नुभाग्नु भन्दै कराउँदै भागेँ । एकछिनमै ठुलो ढुङ्गासहित आएको पहिरोले हाम्रो घर कता पु¥यायो कता थाहै भएन । अन्धकार रातमा म एक्लै रुदैँ कराउदै बोलाउन थाले… बा, आमा, दाजु तर कोही बोल्नु भएन । म रोइरहेँ बा, आमा, दाजु ऽऽऽ… मेरो आवाज त्यही अँध्योरामै हरायो तर कोही आउनु भएन । अन्धकार छ, त्यहाँ पनि पहिरोको खतारा हुन्छ जस्तै लागेर छामछाम छुमछुम गर्दै भागँे । डाडाँघरे दाइको गोठमा पुगेँछु । रातको करिब नौ÷दश बजेको होला गाउँमा होहल्ला हुदैँ थियो तर अहिले कोही कराएको सुनिदैन । एकनासे पानी परिरहेको छ । जमिन भूइँचालो गए जस्तै हल्लीइरहेको जस्तो लाग्छ । ठूलो आवाज गर्दै पहिरो गईरहेको जस्तो सुनिरहेको छु । पहिरो बग्दै तल आँधिखोलामै पुग्यो होला जस्तो लाग्छ । घरमा बा, आमा, दाजु भाग्न सक्नु भयो कि भएन, घर बारी गोठ सवै बगायो होला भन्ने सम्झिदै रुदैँ कराउँदै गोठमा बसेको छु । ठुलो ठुलो स्वर गरेर करएँ कहीँवाट केही आवाज आएन त्यसपछि त गाउँनै बगायो जस्तो लाग्यो ।
भिजेर मुसो जस्तो भएको छु । लुगा फुकालेर निचोरे र फेरि लगाएँ । जाडो र डरले थरथरी काँपी रहेकी छु । जसोतसो बाँच्न सफल भएँ । पानी पर्न अलिक कम भयो । अब यो साईडमा पहिरो पनि जाँदैनहोला । अब भने मेरो लागि रुनु कराउनु शिवाय केही रहेन । रातभर गोठमा रोएर बसेँ रुँदारुँदा आँशु पनि सकिए क्यार आँखा पुरै सुख्खा भए जस्तो लाग्यो । त्यति लामो रात रुँदारुँदै बितेछ । पारी गाउँमा भाले बासेको पो सुनिन थाल्यो । अव उज्यालो हुनै लागेछ भन्ने लाग्यो, पारी पट्टी आगो बलेको पनि देखिन्छ । यता गोठमा गाई, गोरु, बाछासमेत छ वटा रहेछन् । गाईकै वाछाको छेउमा गोवर सँग लत्पतिदै बिहानीको प्रतिक्षामा बसीरहेकी छु । उज्यालो भएपछिका दिन कस्ता हुने हुन् ? के के देख्नु पर्ने हो अव यी आँखाले भन्ने अनेक पीडा आखाँ अगाडि नाँचिरहेको देख्छु । चिसो कपडा माटो र गोवरले लत्पतिदाको अवस्था अर्कै छ । अलिअली मिरमिरे उज्यालो हुँदैछ । गाउँघर पुरै बगाए जस्तो लाग्दैछ । मुटु झनझन काप्न थाल्यो । बेलुका बा, दाजुसँग बसेर रामायण सुनेको समयमा यो मन कति प्रशन्न थियो, छिनभरमै कहाँ पु¥याइ दियो । के गरुँ ? हिजो गाउँ, साथीभाइ घाँसपात मेलापात स्कुलमा रमाउँदै हिँडेको अकस्मात यस्तो अवस्था देख्नु पर्छ भन्ने मैले सपनामा पनि सोचेको थिईन । कसरी यो मनलाई बुझाउनु ? यो गाउँमा अव जीवितै कोही छैनन् होला जस्तो लागेको छ ।
पच्चीस गाउँ र एउटा स्कुल थियो, एकसय साठी भन्दा बढीको बसोबास रहेको थियो । पशुचौपाय दुई सय भन्दा बढी नै थिए होलान् । सवै घर एकै पाटातिर भएकोले सबै बगायो जस्तो लागेको छ । सोच्दा सोच्दै अलिअलि उज्यालो भयो ।
गोठबाट निस्केर डाँडाबाट गाउँतिर हेरेँ । गाउँको त नाम निशाना छैन । आकाश अहिले फाटेको छ । पानी पर्न छाडेको छ । गोठका गाईवस्तु पनि डाँ डाँ डुँ डुँ गर्न थाले गाउँको नामो निशाना नदेखेर होला यिनीहरूको पनि बिजोक हुने भयो । आज यो गोठले यी गाई बस्तु र मलाई बचाएको छ । अव यो साइडमा पहिरो गएन भने बाँचिन्छ जस्तो लागेको छ । अब पुरै उज्यालो भइसकेको छ । पारी गाउँवाट होहल्ला गरेको सुनिन्छ । के भनेको बुझ्दिन तर अधेँरी खोला उर्लेर आको देखिन्छ । सायद पुल बगायो होला । पारीवाट साईसाई सुईसुई गरेको सुन्छु । कोही कराए जस्तो पनि लाग्छ तर केही बुझिदैन । म पनि अग्लो कान्लामा गएर रुदैँ रुदैँ मलाई बचाउनुहोस् भन्दै कराउन खोज्छु, बोली आउँदैन । कपडा देखाउँछु देखुन् भनेर । शरीर पुरै अररो भएको छ, ढाडिएर होला । गाउँघर केही छैन, लेदो बगिरहेको छ । हिजोको बस्तिमा । त्यहाँ गाउँघर गोठ थियो भनेर भन्नै नसकिने गरि सबै बगिसकेको छ ।
अव यो बस्तीमा कोही जीवित छैनन् भन्ने पक्का भयो । अहिलेसम्म कोही कतै देखा परेको छैन, केही होहल्ला छैन । गाउँमा करिव ८—९ भित्र त सवै सुति सक्छन् । सवै निदाएको समय भएकोले सवै पहिरोमा बग्नु भएकोहोला जस्तो छ । म अभागी भने किन भागेँछु । नभागेको भए सगैँ त भइन्थ्यो भनेर आफुलाई आफँैदेखि रिस उठेको छ । अव कता जानु, के गर्नु साहारा कोही छैन । फेर्ने कपडासमेत छैन, खाने को त कुरै छोडाँै । पारी गाउँबाट कोही आउनुहुन्छ कि भन्ने आशामा बसेको छु । खोला तर्न कठिन छ । पूल पनि बगाएको हो भने कोही आउन सम्भव छैन । अव यी गाईवस्तु खोलेर छाडिदिनु प¥यो भनेर सवै गाईगोरु, बाच्छाबाच्छी खोलिदिएर सबैसँग रुँदै विदा मागेँ । रातभर सँगै थियौँ अव कताकता हुने हो थाहा छैन तिमीहरू पनि आफैँ बाँच्ने प्रयास गर भन्दै पल्लो पाखा बारीतिर लगाँइ दिएँ । घाँसको त कमी छैन चर्छन् होला…. म कामना गर्छु की उनीहरूको परिवार केही बाधा नआवस् म जस्तो परिवार बाट छुट्नु नपरोस् । पशु भन्नु मात्र कतिसम्म चेतना हुँदोरहेछ भन्ने गाईको आँशु देखेर थाहा भयो । छेउमा गएर सुम्सुम्याएँ गाईले मलाई चाटिन् आँशु तप्प तप्प झारिन् । मेरो भक्कानो फुटेर आयो लाग्यो यिनै मेरी आमा हुन् । तर उनको पनि परिवार छोराछोरी थिए । त्यसैले तिमी तिम्रो बाटो जाऊ भने, कुरा बुझेझैँ गइन् पनि ।
घाम मज्जाले लागेको छ, भित्र लाएको वस्त्रबाहेक बाहिरी वस्त्र सवै गोवर र हिलो लागेको छ । हिँड्हिँड्दै एक्दमै तिर्खाए जस्तो भोकलागे जस्तो भयो । हात खुट्टा लल्याक् लुलुक् भयो । अव के गर्ने ! सकि नसकि हिँड्दै थिएँ त्यहीँ पर्तिर धारो रहेछ । पहिला पानी पिएँ पेट भरिनेगरि अव चाहिँ बाँच्छु जस्तो लागेर आयो । आफु नुहाएँ लुघा धोएर घाममा सुकाएर पारी पट्टी हेर्दै बसेको छु । देखुन् भनेर कहिले कपडा हल्लाउँछु, कहिले हात तर अहँ ! कसैले मलाई देखेन, रुदै बस्नु शिवाय केही रहेन ।
आमा बा बाट कहिल्यै टाढा भएर नबसेकी म उहाँहरूको एकदमै याद आयो कतै बाट नानी भन्दै बोलाउनु हुन्छकी, दाजुले बहिनी भन्छकी भनेर कान ठाडो पारेर सुनिरहेँ, मेरा कान थाके, मेरा आँखा मधुरा भए तर अह्…..आमा बा ले छोरी पनि भन्नु भएन, दाजुले बहिनी पनि भनेन । मलाई थाहा छ उहाँहरू यो संसारमा हुनुहुन्न तर….तर म यो कुराको कसरी विश्वास गरुँ ? जाने ले त एकदिन दुःख पाउनु भयोहोला तर मैले त जीवनभर यो पीडा बोकेर बाँच्नु पर्ने भयो । कसरी भुलुम् म मेरा आमा, बा, दाजु, कसरी भुलुम् साथीभाइ आफन्तहरू । धिक्कार भो म बाँचेको सगैँ गएको भए पीडा त हुने थिएन । कसो गरुँ, मेरो पीडा कोसँग पोखँु ? कस्लाई सुनाऊँ ? सुन्ने कोही छैन । अब म पनि त्यहीँ पहिरो हुदैँ खोलामा गएर फाल हान्छु सधैँको लागि पीडाबाट मुक्त हुन्छु, मेरा आमा बा सँगै हुन्छु भनेर अगाडि बढिरहेको छु …
पारीपट्टीबाट धेरै मानिसहरू खोलातिर झरेको देख्न थालेँ, यतैतिर आएका हुन् जस्तो छ । झोलुुङ्गे पूल बगाएर अस्थाई पुल बनाउनको लागि युवाहरू जुटेको जस्तो देखिरहेको छु । वारीगाउँ र पारीगाउँ बिहेबारी चल्ने भएकोले पारी गाउँको सँग हाम्रो सम्बन्ध एकदमै राम्रो छ तर दुःखको कुरा के भने कसैले छोरी ज्वाँइ, कसैले बुहारी त कसैले नातानातीना गुमाउनु भएको छ । म खोला छेउको ढुङ्गामा उभिरहेको छु । पारी पट्टी रुवाबासी चलिरहेको छ यो रोदनले खोला, जङ्गल, पाखा, भित्ता सबै रोइरहेको छ, विल्कुलै उजाड बनेर, म यो सम्पूर्ण दृश्य ट्वाल्ल पर्दै हेरेर उभिरहेँ । सोचेँ अव म यो गाउँको एक्ली टुहुरी चेली हुने भएँ । कसरी यो मन बुझाउनु, धेरै गारो भएको छ यो मन बुझाउन ।
क्रमशः

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...