Admission Open

अनुदान रकम उपलब्ध

मकवानपुर, २ माघ
विसं २०७२ को विनाशकारी भूकम्पबाट प्रभावित मध्ये हालसम्म ३२ हजार ५१४ परिवारलाई निजी आवासगृह पुनः निर्माणका लागि अनुदान रकम उपलब्ध गराइएको छ ।
राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका अनुसार ३५ हजार १८९ घरपरिवार प्रभावित भएका थिए ।

ती सेवाग्राही घर धनीहरुलाई प्रथम, दोस्रो र तेस्रो किस्ता गरी आजसम्ममा आ–आफ्नो घर निर्माण गर्न रु सात अर्ब ९९ करोड ९९ लाख ५० हजार अनुदान रकम सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिसकेको एकाइका प्रशासकीय अधिकृत भीमबहादुर परियारले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको आठ गाउँपालिका, थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा समेत गरी ३१ हजार ५५० घरधनीहरुले आ–आफ्नो घर पुनः निर्माणका लागि काम शुरु गरिसकेको छ ।

ती सेवाग्राहीहरुले तेस्रो किस्ता प्रमाणीकरण गरी प्रत्यक्ष २३ हजार १५० परिवारले आवास गृह निर्माणका लागि अनुदान रकम लिई निर्माण कार्य अन्तिम चरणमा पुगेको र ती क्षेत्रमा तत्कालै प्राविधिकहरु खटाइ अनुगमनका लागि पठाइने भएको एकाइका प्राविधिक भोजराज अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी जोखिमयुक्त बस्तीमा परेका २६ सेवाग्राहीलाई बस्तीबाट अन्य स्थानमा हस्तानतरण गरी आवास पुनः निर्माणका लागि अनुदान रकम छिट्टै उपलब्ध गराइने भएको पनि एकाइले जनाएको छ ।

साविकैको स्थानमा घर निर्माण गर्न स्वीकृति प्राप्त सेवाग्राहीहरु पाँच हजार ५७५ ले निर्माणकार्य शुरु गरेका छन् । साथै भूमिहीन कृषक ६० परिवारलाई जग्गा खरिद गर्न रकम उपलब्ध गराइसकेको पनि सो एकाइले जनाएको छ ।

यसैगरी १९ सेवाग्राहीले आफ्नो घर निर्माणका लागि लगिएको अनुदान रकम पुनः निर्माण कार्य शुरु हुन नसकेका कारण जिल्ला आयोजना कार्यान्वयन एकाइलाई ती रकम फिर्ता गरिसकेको पनि सो एकाइ कार्यालय जनाएको छ ।

जिल्लाका ती सेवाग्राहीहरुलाई प्रथम किस्ताबापत रु एक अर्ब ६२ करोड ५७ लाख, दोस्रो किस्ताबापत रु चार अर्ब ८६ करोड र तेस्रो किस्ताबापत रु दुई अर्ब २८ करोड १९ लाख र प्रबलीकरण दोस्रोतर्फ रु ६३ लाख ५० हजार अनुदान रकम उपलब्ध गराइसकेको जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रशासकीय अधिकृत परियारले जानकारी दिनुभयो ।

जिल्लामा बागमती, बकैया, मकवानपुरगढी, भीमफेदी, इन्द्रसरोवर, मनहरी, राक्सिराङ, कैलाश गाउँपालिका, थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका रहेको जिल्ला समन्वय समितिका प्रमख रघुनाथ खुलालले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...