Admission Open

खाँदबारी कारागारमा क्षमताभन्दा पाँच गुणाबढी कैदीबन्दी

किमाथाङ्का, १ माघ
सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा क्षमताभन्दा पाँच गुणाबढी कैदीबन्दी राख्दा समस्या भएको छ । पच्चीस कैदीको क्षमता भएको कारागारमा १४३ कैदीबन्दी राख्नुपरेको कारागारका प्रमुख विनोद अधिकारीले जानकारी दिनुभयो । कारागारमा १३४ पुरुष र नौ महिला कैदीबन्दी छन् । ती मध्ये १२ ज्येष्ठ नागरिकसमेत छन् । कारागार ३।५ रोपनी क्षेत्रफल फैलिएको छ । बन्दीको व्यक्तित्व विकास, सीप विकास तथा कला विकासका लागि पर्याप्त ठाउँ नभएको जनाइएको छ । क्षमताभन्दा बढी सङ्ख्यामा कैदीबन्दी सङ्ख्या भएकाले दैनिक क्रियाकलाप जस्तैः खाने, बस्ने र शौच गर्नेसमेत समस्या हुने गरेको कारागारका चौकीदार परशुराम राईले बताउनुभयो ।

कारागारको सुधार तथा क्षमता वृद्धि गर्नका लागि माथिल्लो सरोकारवाला निकायलाई पटक–पटक अनुरोध गरे पनि बेवास्ता गरिएको प्रमुख अधिकारीले जानकारी दिनुभयो । भौतिक संरचना पर्याप्त नहुँदा कैदीबन्दीले बर्खायाममा पानी चुहिने छाप्रोमा खाना पाकएर खानुपर्ने बाध्यता रहेको गुनासो कैदी धनबहादुर खालिङले गर्नुभयो ।

कारागारमा आपतकालीन अवस्था आएमा तत्कालै उद्धार तथा सुरक्षा दिनसमेत कठिन छ । कारागारमाथिको साइडमा बजार भएकाले भवन निर्माण भएका छन् भने तलतिरको साइड भिरालो र व्यक्तिको जमिन भएकाले सडक पु¥याउन सकिएको छैन । कारागार जाने माथिको साइडमा सानो भिरालो सिँढी (भ¥याङ) ओर्लिएर मात्र पुग्न सकिन्छ । आपतबिपद परेमा उद्धारमा एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका गाडी पुग्न सक्ने सडकसमेत छैन ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...