काठमाडौँ, १७ कार्तिक
आईसीसी टि-२० विश्वकप अन्तर्गत मंगलबार भएको सुपर-१२ चरणको समुह ‘२’ अन्तर्गतको खेलमा पाकिस्तानले नामिबियालाई ४५ रनले हराउँदै समुह ‘२’ बाट सेमीफाइनलमा स्थान पक्का गर्ने पहिलो टिम बनेको छ।
शेख जायद स्टेडियम अबुधाबीमा टस जितेर ब्याटिंग गरेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट क्षेतीमा १८९ रन बनाएको थियो। पाकिस्तानको ब्याटिंगमा ओपनर मोहमम्द रिजवानले अविजित रहँदै ५० बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ७९ रन बनाएका थिए । यस्तै बाबर आजमले ४९ बलमा ७ चौका मद्दतले ७० रन बनाए भने मोहम्मद हफिजले १६ बलमा ५ चौका मद्दतले अविजित ३२ रन बनाएका थिए ।
पाकिस्तानले दिएको १९० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभर ब्याटिंग गर्दै ५ विकेट क्षेतीमा १४४ रन बनाउँदै ४५ रनले पराजित भयो। नामिबियाको लागि डेभिड विजेले अविजित रहँदै सर्वाधिक ४३ रन, क्रेग विलियम्सले सर्वाधिक ४० रन, स्टेफेन बार्डले २९ रन बनाएका थिए ।
पाकिस्तानको लागी बलर हसन अलि , इमाद वासिम , हरिस रौफ र शदाब खानले समान १-१ विकेट लिए। त्यस्तै नामिबियाको बलर डेभिड विजे र जान फ्राईलिंकले समान १-१ विकेट लिए।
पाकिस्तानले यस अघि भारत, न्युजिल्यान्ड र अफगानिस्तानलाई पराजित गरेको थियो। ९ वर्ष यता पाकिस्तान कुनै पनि फर्म्याटको विश्वकपको सेमीफाइनल पुग्न सकेको थिएन ।
अंकतालिका : सबै खेलमा जित पछि सेमीफाइनलमा स्थान पक्का गरेको पाकिस्तान समुह ‘२’ को शिर्ष स्थानमा कायमै छ। अफगानिस्तान ३ खेलमा ४ अंक सहित दोश्रो, न्युजिल्यान्ड र नामिबिया २ अंक सहित तेश्रो र चौंथो स्थानमा यथावत छन्। दुवै खेलमा पराजित भारत र स्कटल्याण्ड अंकविहिन रहँदै पाँचौ र छैटौं स्थानमा छन्। पाकिस्तानले सुपर-१२ चरणको अन्तिम खेल स्कटल्याण्डसंग नोभेम्बर ७ तारिखमा खेल्नेछ भने नामिबियाले नोभेम्बर ५ मा न्युजिल्यान्ड तथा नोभेम्बर ८ मा भारतसंग खेल्ने तालिका रहेको छ।