
काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको एनटी फाइबर सेवाप्रति सेवाग्राहीको आकर्षण र माग निरन्तर बढ्दै गएको जनाएको छ। उच्च गतिको इन्टरनेट र टेलिफोन सेवा एउटै माध्यमबाट उपलब्ध हुने भएकाले यस सेवाप्रति सेवाग्राहीको विश्वास बढिरहेको कम्पनीले जनाएको हो।
बढ्दो मागलाई सम्बोधन गर्न नेपाल टेलिकमले एनटी फाइबर जडान कार्यलाई थप प्रभावकारी बनाउने तयारी अघि बढाएको छ। यसका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी भइरहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार कतिपय कार्यालयमा सेवाको माग उच्च रहेकाले त्यसलाई व्यवस्थित गर्न व्यवस्थापकीय क्षमता सुदृढ बनाउने कामलाई प्राथमिकता दिइएको छ। साथै, सेवा जडानका लागि आवश्यक सामग्रीको आपूर्ति नियमित राख्न पनि कम्पनीले प्रयास गरिरहेको छ।
नेपाल सरकारको स्वामित्वमा रहेको कम्पनी भएकाले सामग्री खरिद तथा आपूर्ति व्यवस्थापनमा विधिसम्मत प्रक्रिया अपनाउनुपर्ने हुँदा आवश्यक प्रक्रिया पूरा गर्दै सेवा प्रवाहलाई निरन्तरता दिइरहेको नेपाल टेलिकमले स्पष्ट पारेको छ।
सेवाग्राहीको बढ्दो चासो र विश्वासले सेवा विस्तार तथा गुणस्तर अभिवृद्धिमा थप प्रेरणा मिलेको उल्लेख गर्दै कम्पनीले मागअनुसार सेवा जडान गर्दै गुणस्तर सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
नेपाल टेलिकमले एनटी फाइबर सेवाप्रति विश्वास, साथ र सहयोग व्यक्त गर्ने सेवाग्राहीलाई धन्यवाद दिँदै सेवा विस्तार र गुणस्तर सुधारलाई निरन्तरता दिने जनाएको छ।


