Admission Open

ad place

भ्रष्टाचारविरुद्ध छैटौँ नेपालगन्ज वाकाथनको तयारी तीव्र, विभिन्न समिति गठन

नेपालगन्ज । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजना हुने छैटौँ नेपालगन्ज वाकाथनको तयारी तीव्र पारिएको छ। आगामी मंसिर २३ गते (डिसेम्बर ९) आयोजना हुने वाकाथनलाई व्यवस्थित र भव्य बनाउन आयोजक संस्था बास नेपाल र व्यवस्थापन संस्था अन्तरालले तयारीलाई तीव्रता दिएका हुन्।

भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै नेपालगन्जको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले वाकाथन आयोजना गर्न लागिएको हो।

कार्यक्रमको तयारीका लागि बसेको बैठकले मूल समिति तथा विभिन्न उपसमिति गठन गरेको छ। वाकाथनको मूल समिति संयोजकमा बास नेपालका पूर्वकेन्द्रीय अध्यक्ष रमेश सिटौला चयन भएका छन्।

TVS_Golden key

त्यसैगरी आर्थिक समिति संयोजकमा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, प्रचारप्रसार निर्देशकमा हेमराज भट्ट, पदयात्रा व्यवस्थापनमा माधवकुमार कार्की, झाँकी व्यवस्थापनमा रवीन्द्र बोहरा र संघसंस्था समन्वयको जिम्मेवारी मनबहादुर भण्डारीलाई दिइएको छ। सचिवालय संयोजकमा मीना घर्ती मगर चयन भएकी छन्।

यसैगरी मञ्च तथा स्थल व्यवस्थापनमा शोभा थापामगर, सुरक्षा व्यवस्थापनमा कमलबहादुर शाही, स्वयंसेवक परिचालनमा सुमिता कुमाल, ट्राइसाइकल व्यवस्थापनमा टेकराज जैसी, स्वास्थ्य तथा प्राथमिक उपचार स्टल व्यवस्थापनमा बसन्ती रोकाया र शैक्षिक क्षेत्र समन्वयमा शोभा भण्डारीलाई जिम्मेवारी दिइएको छ।

वाकाथनमा नेपाल प्रहरीको ब्यान्ड बाजासहित विभिन्न सांस्कृतिक प्रस्तुति, झाँकी प्रदर्शन तथा जनचेतनामूलक पर्चा र पम्प्लेट वितरण गरिने आयोजकले जनाएको छ। सहभागीले भ्रष्टाचारविरुद्धका नारा लेखिएका प्लेकार्ड र नेपालको राष्ट्रिय झण्डासहित पदयात्रा गर्नेछन्।

मंसिर २३ गते बिहान ७ बजे नेपालगन्जको गणेशमान चोकबाट सुरु हुने वाकाथन बीपी चोक, त्रिभुवन चोक र सदरलाइन हुँदै रामलीला मैदानमा पुगेर समापन हुनेछ। आयोजकले भ्रष्टाचारविरुद्धको अभियानमा ऐक्यबद्धता जनाउन सर्वसाधारण, संघसंस्था तथा सरोकारवाला सबैलाई स्वतःस्फूर्त सहभागिताका लागि आह्वान गरेको छ।

सन् २००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसंघीय महासभाले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि पारित गरेको दिनलाई स्मरण गर्दै हरेक वर्ष डिसेम्बर ९ मा अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्ध दिवस मनाइन्छ। बास नेपालले पश्चिम नेपालमा भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउने उद्देश्यले सन् २०२१ देखि नियमित रूपमा नेपालगन्ज वाकाथन आयोजना गर्दै आएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...