Admission Open

ad place

बालेन र मोदीबीच उपहार आदानप्रदान, शाहले दिए पशुपतिनाथको प्रसाद, मोदीबाट गङ्गाजल उपहार

काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको द्विपक्षीय भेटवार्ताका क्रममा सांस्कृतिक तथा धार्मिक महत्त्व झल्काउने उपहार आदानप्रदान भएको छ।

भेटवार्ताका अवसरमा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई पशुपतिनाथ मन्दिरको प्रसादसहितको विशेष उपहार प्रदान गरेका छन्। आकर्षक काठको बट्टामा राखिएको उक्त उपहारमा रुद्राक्ष, शालिग्राम र पशुपतिनाथ मन्दिरको चन्दन समावेश गरिएको छ।

TVS_Golden key

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री शाहले मोदीलाई प्रदान गरेको प्रसादको उक्त सेट व्यक्तिगत तवरबाट तयार गरिएको उपहार हो। नेपालको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको पशुपतिनाथको प्रसाद उपहारका रूपमा प्रदान गरिएको हो।

त्यसको प्रत्युत्तरस्वरूप भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई पवित्र गङ्गाजल भरिएको घडा उपहार दिएका छन्। हिन्दू धर्म र भारतीय सभ्यतामा विशेष धार्मिक महत्त्व राख्ने गङ्गाजललाई भारतको सांस्कृतिक तथा आध्यात्मिक पहिचानसँग जोडेर हेरिन्छ।

यसैगरी, नेपाली दूतावासका तर्फबाट भारतीय प्रधानमन्त्री मोदीलाई मच्छिन्द्रनाथसँग सम्बन्धित विशेष उपहारसमेत प्रदान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

दुवै देशका प्रधानमन्त्रीबीच भएको उपहार आदानप्रदानमा नेपाल र भारतको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक सम्बन्ध झल्किएको छ। पशुपतिनाथको प्रसाद, रुद्राक्ष, शालिग्राम र गङ्गाजलजस्ता धार्मिक महत्त्व बोकेका सामग्रीको आदानप्रदानले दुई देशबीचको ऐतिहासिक सांस्कृतिक निकटतालाई समेत प्रतिबिम्बित गरेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...