
काठमाडौं । ओपनर युवराज सिंह सम्रा र कुशल भुर्तेलको विस्फोटक ब्याटिङमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा कीर्तिमानको वर्षा गरेको छ ।
आइतबार काठमाडौं गोर्खाजविरुद्ध पोखराले ३ विकेट गुमाएर २२४ रन बनाउँदै एनपीएल इतिहासकै उच्च योगफल तयार पार्यो । यसक्रममा पोखराले एकै इनिङ्समा पाँच नयाँ कीर्तिमान कायम गर्यो ।
पोखराका कुशल भुर्तेल शतक बनाउन एक रनले चुके । उनले ९९ रन बनाउँदा युवराज सिंह सम्राले ८९ रनको योगदान दिए । यी दुईले दोस्रो विकेटका लागि १८६ रनको कीर्तिमानी साझेदारी गरे ।
पोखराले यससँगै एनपीएलकै उच्च योगफल र उच्च साझेदारीको कीर्तिमान बनायो । त्यस्तै, प्रतियोगितामा तीन पटक २०० रनभन्दा माथिको योगफल बनाउने पहिलो टोली बन्यो ।
कुशलको ९९ रन एनपीएलमा नेपाली खेलाडीले बनाएको सर्वाधिक व्यक्तिगत स्कोरसमेत हो । पोखराले १५ छक्का र १८ चौका प्रहार गर्दै बाउन्ड्रीबाट मात्रै १६२ रन जोडेर अर्को कीर्तिमान पनि बनायो ।


