
काठमाडौं । बूढीगण्डकी नदीमा आएको भीषण बाढीले धादिङ र गोरखा जोड्ने पक्की पुल बगाएको छ। बाढीले नदी किनारका खेत तथा जग्गामा कटान गर्नुका साथै गोरखातर्फ बस्तीसमेत बगाएको प्रारम्भिक जानकारी आएको छ।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार जिल्लामा हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न सुरक्षा निकाय परिचालन गरिएको छ।
पुल बगाएपछि गोरखा, चितवनलगायतका क्षेत्रसँगको सडक सम्पर्क प्रभावित भएको छ। बाढीसँगै ठूला चट्टान र लेदोसमेत बगेको प्रशासनले जनाएको छ। नदीको बहाव घट्ने र बढ्ने क्रम जारी रहेकाले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।


