#दीपककुमार साह
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले सुनसरी–४ का सांसद दीपककुमार साहलाई उद्योगमन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्।
उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री शाहले रिक्त रहेको उद्योग मन्त्रालयको जिम्मेवारीका लागि साहको नाम सिफारिस गरेका हुन्।
साह निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका थिए। त्यसअघि उनी सीके राउत नेतृत्वको जनमत पार्टीमा आबद्ध थिए। जनमत पार्टीबाट निष्काशित भएपछि उनले आफ्नै दलसमेत गठन गरेका थिए।
साह अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका छन्। मन्त्रिपरिषद्को बैठक चलिरहेका बेला उनी प्रधानमन्त्री कार्यालयकै एक कोठामा बसेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार साहको पद तथा गोपनीयताको शपथ आज साँझ साढे ५ बजे हुने कार्यक्रम तय गरिएको छ।


