Admission Open

टेलिफोन र रेडियोबाट स्वास्थ्य सेवा

चितवन / कोरोना सङ्क्रमण ग्रामीण क्षेत्रसम्म फैलिएपछि चेम्बर अफ कमर्स चितवनले टेलिफोन र रेडियोबाट स्वास्थ्य सेवा शुरु गरेको छ । चेम्बरले १६ जना चिकित्सकको नाम र मोबाइल नम्बर सार्वजनिक गरेर सेवा शुरु गरेको हो । रेडियो कार्यक्रममार्फत पनि सेवा दिइएको छ ।

चेम्बरका अध्यक्ष दीर्घमान श्रेष्ठका अनुसार विभिन्न विधाका १६ चिकित्सकको नम्बर सार्वजनिक गरिएको छ । फिजिसियन, प्रसूतिरोग, सर्जन, हाडजोर्नी, मनोरोग, बालरोगलगायतका विधाका चिकित्सकको नम्बर सार्वजनिक गरिएको हो । संस्थाले नयाँ मोबाइल नम्बर उपलब्ध गराएको हो । ती चिकित्सकको नाम सामाजिक सञ्जाल र विज्ञापन गरी ग्रामीण क्षेत्रसम्मका सर्वसाधारणलाई उपलब्ध गराइएको छ ।

श्रेष्ठका अनुसार सोमबारबाटै सेवा शुरु भएको छ । उहाँले भन्नुभयो, “चिकित्सकलाई टेलिफोन आइरहेको छ ।” कोभिड सङ्क्रमणसँगै जिल्लामा निषेधाज्ञा भएपछि सर्वसाधारण चिकित्सकसम्म पुग्न नसक्ने अवस्था आएपछि चेम्बरले यो अभियान सञ्चालन गरेको हो । स्वास्थ्यसम्बन्धी जुनसुकै समस्या भएपछि चिकित्सकको परामर्श लिन सकिने छ । सर्वसाधारणले आफूलाई भएको रोगका आधारमा चिकित्सकसँग परामर्श गर्न सक्नेछन् ।

सामान्य अवस्थामा अस्पताल आउन नपर्ने गरी सेवा दिन लागिएको श्रेष्ठले बताउनुभयो । निषेधाज्ञा लागेपछि अस्पतालका बहिरङ्ग सेवा बन्द छन् । शहरका अस्पतालसम्म आउन सवारी साधनको अभाव छ । दीर्घरोगीहरुको औषधिसमेत सकिएकाले यो अभियान प्रभावकारी हुने जनाइएको छ । अधिकांश सङ्क्रमित होमआइसोलेशनमा रहेकाले पनि सेवा प्रभावकारी हुने श्रेष्ठ बताउनुहुन्छ ।

यसैगरी चेम्बरले भरतपुरको कालिका एफएम र सिनर्जी एफएममा चिकित्सकसहित कार्यक्रम शुरु गरेको छ । सो कार्यक्रममा बिरामी वा सङ्क्रमितले आफ्नो परिचय गोप्य राखेरै समस्या राख्न सक्नेछन् । उहाँका अनुसार अन्य रेडियोहरूमा पनि कार्यक्रम गर्ने तयारी गरिएको छ ।

जिल्लामा सङ्क्रमितको मृत्यु २०० नाघ्यो

जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २०० नाघेको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका हुन् । स्वास्थ्य कार्यालय चितवनका तथ्याङ्क अधिकृत गीताञ्जली ढकालका अनुसार हालसम्म जिल्लामा २०६ जनाको मृत्यु भएको छ । तीमध्ये भरतपुर महानगरपालिका १३१ को मृत्यु भएको हो । यस्तै खैरहनी नगरपालिकाका ११, माडी नगरपालिकाका सात, रत्ननगर नगरपालिकाका २४, राप्ती नगरपालिकाका १८, कालिका नगरपालिकाका १३ र इच्छाकामना गाउँपालिकाका दुई जनाको कोरोनाका कारण मृत्यु भएको हो । जिल्लाका विभिन्न अस्पताल र होमआइसोलेशनमा उनीहरुको मृत्यु भएको हो ।

जिल्लाका अस्पतालहरुमा बाहिरी जिल्लाबाट उपचार गर्न आउने सङ्क्रमितको सङ्ख्यामा पनि ठूलो रहेकको छ । उपचारका लागि बाहिरी जिल्लाबाट आएकाहरुमा २६४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । जिल्ला र बाहिरी जिल्लाका मृतकमध्ये ३२८ जनाको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । व्यवस्थापन गरिएका शव परिवारको सल्लाहमा पारिवारिक संस्कारअनुसार जलाउने वा गाड्ने गरिएको छ । मृतकमध्ये १३३ जनाको शव भने परिवारले नै व्यवस्थापन गरेका छन् ।

जिल्लामा हालसम्म १२ हजार ९७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । तीमध्ये चार हजार ८३४ सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये चार हजार ६५८ होमआइसोलेशनमा उपचाररत रहेका छन् भने १६२ अस्पतालमा र १४ जना सामुदायिक आइसोलेशनमा रहेको ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार सात हजार ९३५ जनाले कोरोना सङ्क्रमण जितेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...