
काठमाडौं : सरकारले सार्वजनिक यातायात तथा मालवाहक सवारी साधनको भाडा वृद्धि गर्ने निर्णय गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक स्वीकृतिपछि यातायात व्यवस्था विभागले नयाँ भाडादर कार्यान्वयनको तयारी थालेको हो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ। यससँगै मालवाहक सवारी साधनको भाडामा पनि उल्लेख्य वृद्धि गरिएको छ।
विभागका अनुसार पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ।
यातायात व्यवस्था विभागले छिट्टै आफ्नो आधिकारिक वेबसाइटमार्फत नयाँ भाडादरको विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अन्य प्राविधिक कारण देखाउँदै यातायात व्यवसायीहरूले लामो समयदेखि भाडा समायोजनको माग गर्दै आएका थिए। नयाँ भाडादर लागू भएसँगै सर्वसाधारणको दैनिक आवागमन खर्च बढ्ने तथा उपभोग्य वस्तुको मूल्यमा समेत प्रभाव पर्ने अनुमान गरिएको छ।

