Admission Open

ad place

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए शपथ

काठमाडौं, १३ चैत्र : बालेन शाहले नवनियुक्त प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

शुक्रबार शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित एक विशेष समारोहबीच रामचन्द्र पौडेलबाट प्रधानमन्त्री शाहले शपथ लिएका हुन्।

औपचारिकता, सांस्कृतिक परम्परा र धार्मिक विधिहरूको समिश्रणका रूपमा सम्पन्न उक्त समारोहमा उच्च पदस्थ सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका नेताहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

शपथ ग्रहण कार्यक्रमलाई विशेष बनाउने उद्देश्यले विविध धार्मिक परम्पराअनुसारका अनुष्ठानहरू पनि सम्पन्न गरिएका थिए। समारोहमा १०८ जना बटुकहरूले वैदिक मन्त्रसहित स्वस्तिक वाचन गरेका थिए भने १०७ जना बौद्ध लामा गुरुहरूले मंगल वाचन गरेका थिए। यसैगरी ७ जना ब्राह्मणहरूले शंखनाद गरी वातावरणलाई थप पवित्र बनाएका थिए।

सनातन परम्पराअनुसार सम्पन्न गरिएको उक्त कार्यक्रमले नेपालको बहुधार्मिक र बहुसांस्कृतिक पहिचानलाई झल्काएको उपस्थितहरूको भनाइ थियो।

प्रधानमन्त्री शाहको शपथसँगै अब मन्त्रिपरिषद् विस्तारको प्रक्रिया अगाडि बढ्नेछ। शपथ समारोह लगत्तै मन्त्रिहरूको पनि पद तथा गोपनीयताको शपथ ग्रहण गराइने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

नवनियुक्त प्रधानमन्त्री शाहले देशको समग्र विकास, सुशासन तथा जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता जनाउने विश्वास गरिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...