काठमाडौँ : सालपा विकास बैंक लिमिटेडले आजदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १४ लाख ३९ हजार १७९ कित्ता साधारण शेयर निष्कासन गरेको हो ।
निष्कासित कुल शेयरमध्ये ५ प्रतिशत अर्थात् ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि र ०.५० प्रतिशत अर्थात् २६ हजार ११९ कित्ता बैंकका कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी रहेको शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
आईपीओमा आवेदन दिने लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्म शेयरका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै, ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिने सुविधा पनि उपलब्ध छ ।
बैंकका अनुसार आईपीओ छिटोमा पुस २० गते बन्द हुने छ भने पर्याप्त आवेदन नपरेमा ढिलोमा पुस ३० गतेसम्म खुला रहनेछ । आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हालेको छ ।
यसअघि बैंकले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरिसकेको छ । उक्त चरणअन्तर्गत मंसिर २५ गतेदेखि मंसिर २९ गतेसम्म आवेदन संकलन गरिएको थियो । बैंकले नेपाल धितोपत्र बोर्डबाट मंसिर ८ गते कुल १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो ।
स्वीकृत कुल शेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ७२ हजार ३८८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त नेपालीहरूका लागि छुट्याइएको थियो, जुन शेयर निष्कासन प्रक्रिया सम्पन्न भइसकेको छ ।



