
काठमाडौँ : नेकपा एमालेले आज देशभरका सबै प्रदेश कमिटी र ७७ वटै जिल्ला कमिटीको संयुक्त भर्चुअल बैठक आयोजना गरेको छ । पार्टी संगठनलाई एकैसाथ सम्बोधन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त बैठक आज दिउँसो २ बजे सुरु हुने जनाइएको छ ।
बैठकलाई पार्टी महासचिव शंकर पोखरेलले काठमाडौँस्थित केन्द्रीय कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले जानकारी दिए । उनका अनुसार बैठकमार्फत हालै सम्पन्न ११औँ महाधिवेशनका सन्देशहरू देशभरका पार्टी संरचनासम्म प्रभावकारी रूपमा प्रवाह गर्ने लक्ष्य राखिएको छ ।
डा. अधिकारीका अनुसार ११औँ महाधिवेशनबाट तय भएका प्रारम्भिक निर्णय, महाधिवेशनले चयन गरेको नयाँ नेतृत्व, त्यसको कार्यदिशा तथा जिम्मेवारीका साथै वर्तमान राष्ट्रिय राजनीतिक अवस्थाबारे महासचिव पोखरेलले स्पष्ट धारणा राख्नेछन् । “महाधिवेशनपछि पार्टीको नीति, दृष्टिकोण र आगामी कार्ययोजनाबारे संगठनका सबै तहमा एकैपटक सन्देश दिन आजको भर्चुअल बैठक आयोजना गरिएको हो,” उनले भने ।
बैठकमा जिल्ला कमिटीका पदाधिकारीदेखि सचिवालय सदस्यसम्म तथा प्रदेश कमिटीका पदाधिकारी र सम्पूर्ण सदस्यहरूको सहभागिता रहनेछ । त्यसका लागि सम्बन्धित सबैलाई जुम आइडी र आवश्यक विवरण अग्रिम रूपमा पठाइसकिएको जनाइएको छ ।
एमालेले महाधिवेशनपछि संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्तामा उत्साह र एकता कायम गर्ने तथा आगामी राजनीतिक चुनौतीहरू सामना गर्न साझा दृष्टिकोण निर्माण गर्ने उद्देश्यका साथ यस्तो संयुक्त भर्चुअल बैठकलाई निरन्तरता दिँदै आएको छ । आजको बैठकलाई पार्टीका आगामी गतिविधि र राजनीतिक रणनीतिका हिसाबले महत्वपूर्ण मानिएको छ ।


