Admission Open

ad place

एमाले ११औँ महाधिवेशनः सांस्कृतिक प्रदर्शनदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन

भक्तपुर, २८ मङ्सिर: नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारीस्थित विशाल मैदानमा भव्य रूपमा सम्पन्न भएको छ। देशभरका ७७ वटै जिल्लाबाट आएका प्रतिनिधि, नेता–कार्यकर्ता तथा शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको तीनदिने महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको हो। उद्घाटन सत्रपछिका बाँकी कार्यक्रम काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुने छन्।

ऐतिहासिक, धार्मिक तथा पुरातात्विक दृष्टिले महत्वपूर्ण काठमाडौँ उपत्यकाको सबैभन्दा पुरानो मन्दिर तथा विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरको काखमा रहेको सल्लाघारी चौरमा तयार गरिएको कलात्मक मञ्च महाधिवेशनको मुख्य आकर्षण बनेको थियो। नेपाल ट्रष्टको स्वामित्वमा रहेको एक सय आठ रोपनी क्षेत्रफलको चौरमा बनाइएको मञ्चमा चाँगुनारायण मन्दिरको प्रतिरूपलाई विशेष स्थान दिइएको थियो, जसले उद्घाटन समारोहलाई अझ ऐतिहासिक र सांस्कृतिक बनाएको सहभागीहरूको भनाइ छ।

मञ्चले बढायो चाँगुनारायणप्रतिको चासो

महाधिवेशनमा सहभागी अधिकांश प्रतिनिधि तथा कार्यकर्ताबीच चाँगुनारायण मन्दिरको ऐतिहासिक महत्त्वबारे चर्चा चलिरहेको देखिन्थ्यो। ओखलढुङ्गाबाट सहभागी हुन आएका सन्तोष खड्काले मञ्चमा देखाइएको मन्दिरको संरचना देखेपछि चाँगुनारायण दर्शन गर्ने इच्छा जागेको बताउनुभयो।
“अहिलेसम्म चाँगुनारायण पुगेको थिइनँ। मञ्चमा देखिएको मन्दिरको कलात्मक संरचना देखेपछि नजिकै रहेको मन्दिर अवलोकन गर्न मन लाग्यो,” उहाँले भन्नुभयो।

त्यस्तै, खोटाङबाट आएका प्रतिनिधि रवीन्द्र श्रेष्ठले महाधिवेशनका क्रममा तयार गरिएको मञ्चले इतिहास र धर्मको प्रचार मात्र नगरी आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुर्‍याएको बताउनुभयो। उहाँका अनुसार, महाधिवेशनका कारण काठमाडौँ आएका धेरै सहभागी अब चाँगुनारायण, भक्तपुर दरबार स्क्वायरलगायतका सम्पदा अवलोकन गर्ने योजनामा छन्।

सांस्कृतिक झाँकी र नाचगानले उद्घाटन सत्र थप रंगीन

महाधिवेशन उद्घाटन समारोहमा नेपालका विभिन्न जातजाति, भाषा, भेषभूषा, कला र संस्कृतिको झल्को दिने सांस्कृतिक कार्यक्रमले कार्यक्रमलाई थप रौनक बनाएको थियो। भक्तपुरका चारवटै नगरपालिकाबाट आएका बाजागाजासहितको र्‍यालीमा धिमे बाजा, न्याउली बाजा, बाँसुरी, बैण्ड बाजालगायतका प्रस्तुति आकर्षणको केन्द्र बने।

नेवार समुदायका महिलाले लगाउने हाकुपटासी पहिरनमा प्रस्तुत नृत्य, मगर, तामाङ, शेर्पा, लामा समुदायका सांस्कृतिक नाच, झाँक्री नृत्यलगायतले सल्लाघारी चौरलाई सांस्कृतिक उत्सवमा रूपान्तरण गरेको देखिन्थ्यो। सहभागीहरू स्वस्फूर्त रूपमा नाचगानमा सहभागी भइरहेका थिए भने कतिपय भाषण सुन्दै कार्यक्रमको मजा लिइरहेका देखिन्थे।

जङ्कुसहितको सांस्कृतिक झाँकीले तान्यो ध्यान

कार्यक्रमस्थलमा भक्तपुरको नेवार समुदायले ९९ वर्षीया ज्येष्ठ नागरिकलाई जङ्कुको भेषमा सजाइएको रथमा राखी छोरानातिले बोकेर कार्यक्रमस्थलमा प्रवेश गराउँदा उपस्थित सहभागीहरू भावुक र उत्साहित देखिन्थे। यस किसिमको जीवन्त सांस्कृतिक पहिचानलाई ७७ जिल्लाबाट आएका सहभागीले प्रत्यक्ष अवलोकन गर्ने अवसर पाएका थिए।

सडक र सवारी व्यवस्थापनमा देखियो अनुशासन

एमालेको १०औँ महाधिवेशनका क्रममा चितवनमा देखिएको सडक अवरोधको अनुभवबाट पाठ सिक्दै यसपटक भक्तपुर जिल्ला कमिटीले सुरक्षा निकायसँग समन्वय गरी सवारी तथा र्‍याली व्यवस्थापनलाई व्यवस्थित बनाएको थियो। गठ्ठाघर र जगातिबाट आएका र्‍यालीले मुख्य सडकको सट्टा सर्भिस ट्र्याक मात्र प्रयोग गरेकाले अरनिको राजमार्ग दिनभर निर्वाध रूपमा सञ्चालनमा रह्यो।

एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाका अनुसार, स्वयंसेवक र सुरक्षाकर्मीको सक्रियताका कारण कुनै पनि सडक अवरुद्ध हुन पाएन।

साना व्यापारी र स्थानीय व्यवसायी उत्साहित

महाधिवेशन उद्घाटनस्थलमा भक्तपुरको पहिचान बोकेको जुजुधौ, नेवारी खाजा, मःमः, बदाम, सुन्तलालगायतका परिकारको बिक्री उल्लेखनीय रह्यो। ‘जय शम्भो जुजुधौ सेन्टर’का सञ्चालक कान्छाराम सैँजुले विभिन्न जिल्लाबाट आएका पाहुनालाई जुजुधौ खुवाउन पाउँदा खुसी लागेको बताउनुभयो।
त्यस्तै, मःमः तथा नेवारी खाजा व्यवसायीहरूले पनि दिनभर राम्रो व्यापार भएको जानकारी दिएका छन्।

कडा सुरक्षा व्यवस्था

महाधिवेशन उद्घाटनस्थलमा जिल्ला प्रशासन कार्यालयले तीन तहको सुरक्षा व्यवस्था मिलाएको थियो। भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार, बिहानैदेखि बम डिटेक्टर प्रयोग गरी स्थलको सूक्ष्म जाँच गरिएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सादा पोसाकका गरी करिब २ हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको र सिसी क्यामेराबाट निरन्तर निगरानी गरिएको थियो।

अपेक्षाभन्दा बढी सहभागिता

दुई हजार २६२ प्रतिनिधिको सहभागिता रहेको महाधिवेशन उद्घाटन कार्यक्रममा एक सय आठ रोपनी क्षेत्रफलको चौर पूर्ण रूपमा भरिएको थियो। एमाले भक्तपुर जिल्ला उपाध्यक्ष किरण थापामगरका अनुसार, सहभागीको संख्या अपेक्षाभन्दा बढी थियो। मञ्चको दायाँ–बायाँ ३० फिट अग्ला एलइडी स्क्रिन र तीन किलोमिटरसम्म आवाज पुग्ने उच्च गुणस्तरका साउन्ड सिस्टम जडान गरिएकाले बाहिर रहेका सहभागीले समेत सम्बोधन सहजै सुन्न सके।

आन्तरिक पर्यटनमा सकारात्मक प्रभाव

महाधिवेशनमा सहभागी धेरै प्रतिनिधि तथा कार्यकर्ता भक्तपुर दरबार स्क्वायर, पाँचतले मन्दिर, ५५ झ्याले दरबार, चाँगुनारायण र मध्यपुरथिमिका सम्पदा अवलोकनमा निस्किएका देखिन्थे। यसले होटल, रेष्टुराँ तथा स्थानीय व्यवसायमा उल्लेखनीय चहलपहल बढाएको भक्तपुर नगरपालिकाका रामचन्द्र प्रजापतिले बताउनुभयो।

सरसफाइ र व्यवस्थापन

महाधिवेशन उद्घाटन सत्र सम्पन्न भएपछि कार्यक्रमस्थलको सरसफाइ कार्य शनिबार साँझदेखि सुरु गरिएको एमाले जिल्ला उपाध्यक्ष किरण थापामगरले जानकारी दिनुभयो। अस्थायी शौचालयको व्यवस्थापन, फोहर संकलन तथा मञ्च भत्काएर भृकुटीमण्डप सार्ने काम रातिसम्म सम्पन्न गरिने उहाँले बताउनुभयो।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...