काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको विकल्प तत्काल नखोज्ने भएको छ । ‘जेन-जी’ आन्दोलनपछि अरू दलहरूसँगै रास्वपासमेत पुनर्गठन गर्नुपर्ने आवाज उठिरहेका बेला नेताहरूले तत्काल सभापति लामिछानेको विकल्प खोज्न नहुने धारणा राखेका हुन् । मंगलबार बसेको केन्द्रीय समिति बैठकमा पाँच प्रदेशका सभापतिहरूले लामिछानेको विकल्प नखोजिएको बताएका हुन् । कोसी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिमका सभापतिहरूले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै सभापति रविको विकल्प नखोजिएको बताए ।
बागमती सभापति अच्युतम लामिछानेले सभापति रविको विकल्प नखोजिएको बताउनुभयो । ‘पुराना पार्टीमा चलेको हावामा रास्वपा कदापि विश्वास गर्दैनौँ,’ उहाँले भन्नुभयो । कोसीका सभापति तपेश्वर यादवले सभापति रविप्रति पूर्ण विश्वास भएकाले विकल्प नखोजिने बताउनुभयो । कोसीका कार्यबाहक सभापति सरिन तामाङले पनि सभापति रवि बिनाको रास्वपा परिकल्पना नगरिएको बताउनुभयो । तल उठेका कुरा केन्द्रमा राखिदिनुस् है भनेका कारणले सुझावहरू बुझाएको उहाँको भनाइ थियो । लुम्बिनी प्रदेशका सभापति देवराज पाठकले नेतृत्वबारे कुरै गर्न नपाउने रास्वपामा नहुने बताउनुभयो । ‘सभापतिको विकल्पबारे हामीले सोचेका पनि छैनौँ,’ उहाँले भन्नुभयो । सुदूरपश्चिमका सभापति प्रकाश विष्टले सभापति रविको विकल्प नखोजिएको बताउनुभयो । गण्डकी र कर्णालीका सभापति भने उपस्थित हुन नसकेको जानकारी गराइएको थियो ।
‘जेन-जी’ आन्दोलनपछि प्रमुख दलहरूमा नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस भइरहेको छ । रास्वपाकै केही नेताहरूले समेत यसबारे चर्चा गरेका छन् । रास्वपा नेतृ सुमना श्रेष्ठले यही विषय उठाएर पार्टी परित्याग गर्नुभएको छ । नेपाली कांग्रेससहित, नेकपा एमाले र माओवादी केन्द्रमा पनि यसबारे बहस भइरहेको छ । तर, तिनै पार्टीको नेतृत्वले पद छाड्ने संकेत गरेका छैनन् ।
‘नक्खु कारागारले सुरक्षा जोखिम छ भनेपछि रविलाई जिम्मा लिएका हौँ’
रास्वपाले पार्टी सभापति रवि लामिछाने २४ भदौमा नक्खु कारागारबाट निस्कन कारागार प्रशासनले नै पटक-पटक फोन गरेर आग्रह गरेको दाबी गरेको छ । पटक-पटक दशौँ मान्छेलाई फोन आएपछि रवि निस्किनुभएको रास्वपाको दाबी छ । दिइएको पत्रबारे कारागार प्रशासनले नै बोल्नुपर्ने सहप्रवक्ता प्रतिभा रावलले बताउनुभयो । ‘सुरक्षा चुनौती छ भनेर उहाँहरूले नै अनुरोध गरेपछि, पटक-पटक दशौँ मान्छेलाई फोन आएपछि उहाँ निस्कनुभएको हो,’ मंगलबार पार्टी केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सहप्रवक्ता रावलले भन्नुभयो, ‘नक्खु कारागारको लेटरहेड प्रयोग भएर नै पत्र आएको छ । त्यसबारे त हामीले भन्दा पनि उहाँहरूले नै बोल्नुपर्ने होला नि ।’
पार्टी प्रवक्ता मनीष झाले पनि पत्रबारे प्रश्न उठेकामा आपत्ति जनाउनुभयो । उक्त पत्रमा भएको केरकारबारे चर्चा भए पनि त्यहीँ भएको हस्ताक्षर र स्ट्याम्पबारे भने कसैले चर्चा नगरेको उहाँको भनाइ छ । ‘पत्रबारे प्रश्न उठेको हुन्छ । केरिएको ठाउँमा हस्ताक्षर र स्ट्याम्प देख्नुभएन,’ झाले भन्नुभयो ।
‘जेन-जी’ आन्दोलनमा गयौँ, तर तोडफोड र आगजनीमा सहभागी भएनौँ : प्रवक्ता झा
रास्वपाले ‘जेन–जी’ पुस्ताले गरेको आन्दोलनमा आफ्नो पार्टीको समर्थन भए पनि अगुवाइ नगरेको प्रष्टीकरण दिएको छ । आन्दोलनको क्रममा २४ गतेको घटना सोचेभन्दा फरक भएको प्रवक्ता मनीष झाले बताउनुभयो । ‘हाम्रो पार्टीमा जेन–जी अहिले पनि हुनुहुन्छ । हाम्रो प्रतिनिधि सभाको सचेतक नै जेन–जी पुस्ताबाट हुनुहुन्छ । उहाँहरू पनि जानुभएको थियो । केन्द्रीय सदस्य त्यो बेलामा हुनुहुन्थ्यो । सुमनाजी पनि जानुभएको थियो । गणेश कार्की, कान्तिशिखालगायत केन्द्रीय सदस्यहरू, सम्भवतः अरू पार्टीको तुलनामा संख्यागत र प्रतिशतगत रूपमा हामी सबैभन्दा बढी उपस्थित थियौँ,’ उहाँले भन्नुभयो, ‘तर हामीले कुनै पनि ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीको आन्दोलन हो । अगुवाइ हो भनेर दाबी गरेका थिएनौँ । २४ गतेको घटनामा सहभागिताका लागि हाम्रो कुनै आह्वान थिएन । आगजनी र लुटपाट हाम्रो पार्टीको सिद्धान्त पनि होइन । अरू पार्टी नेता कार्यकर्ताले आगजनी र तोडफोडमा संलग्न भएको पुष्टि हुँदासमेत चुइँक्क बोलेको छैन । तर, हाम्रो पार्टीकाहरूले स्वतः राजीनामा दिनुभयो ।
झाले ‘जने-जी’ आन्दोलनका क्रममा नक्खु कारागारमा रोक्दै गरेको भिडियोमा अरू क्लिप राखेर आफूमाथि कारागार जलाउन नेतृत्व गरेको भनेर आरोप लगाइएको दाबी गर्नुभयो । ‘आगलागी हुँदै गर्दा एउटा राजनीतिज्ञले रोक्न जानु मेरो धर्म होइन ?’ उहाँले प्रश्न गर्नुभयो, ‘‘मेरो छानविन नहोस् भनेको होइन, ममाथि पनि छानविन होस् ।’
‘जेन-जी’ आन्दोलनलाई ‘हाईज्याक’ गरियो, सुकिलामुकिला मन्त्री बने : दुर्गा प्रसाईं
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईँले ‘जेन-जी’ आन्दोलनलाई ‘हाईज्याक’ गरिएको दाबी गर्नुभएको छ । मंगलबार पत्रकार सम्मेलनमार्फत प्रसाईंले आन्दोलनको उद्देश्य र परिणाम फरक दिशामा गइसकेको दाबी गर्नुभएको हो । आन्दोलनसँगै नेपालमा विदेशी हस्तक्षेप बढेको उहाँको जिकिर छ । ‘हामीले खोजेको चिज एउटा थियो, भइदियो अर्को । व्यवस्था परिवर्तन र संविधान परिवर्तन हुनुपथ्र्यो । त्यो भएन । आन्दोलनमा सिंहदरबार, सर्वोच्चमा आगलागी भयो, हामी पनि छक्क प¥यौँ’, उहाँले भन्नुभयो, ‘अहिले बनेको सरकार जेन-जीको सरकार होइन । जेन-जीलाई हाईज्याक गरेर बारबरा फाउन्डेसन र समता फाउन्डेसनका सुकिलामुकिला मन्त्री बनेका छन् ।’
प्रसाईंले आफूहरूको अभियानको मूल उद्देश्य व्यवस्था र संविधानमा सुधार ल्याउने रहेको उल्लेख गर्नुभयो । आफूहरूले अब प्रतिपक्षीको भूमिका निभाउने उहाँको भनाइ छ । ‘यो देशमा प्रतिपक्ष नै थिएन । त्यतिबेला हामीले प्रतिपक्षको भूमिका निभाएका थियौँ । यो अन्तरिम सरकारमा पनि प्रतिपक्षकै भूमिका निर्वाह गर्छौँ । हामी खबरदारी गर्छौँ’, उहाँले भन्नुभयो । आफ्नो अभियान भ्रष्टाचारविरुद्ध केन्द्रित रहेको उहाँले दाबी गर्नुभयो । प्रसाईँले नेपाललाई वैदिक सनातन हिन्दूराष्ट्र बनाउनुपर्ने धारणा राख्दै दशैँपछि हिन्दू अधिराज्य कायमको माग राखेर आन्दोलन गर्ने बताउनुभयो । ‘हामी दशैँ, तिहार र छठपछि यो देशमा हिन्दूराष्ट्र र वैदिक सनातन धर्म सापेक्ष किराँत, बौद्धसहितको हिन्दू अधिराज्य कायमको माग राखेर आन्दोलन गर्छौँ,’ उहाँले भन्नुभयो ।