Admission Open

ad place

पाँच किसान पुरस्कृत

ढोरपाटन (बागलुङ), १६ असारः कृषि ज्ञान केन्द्र बागलुङले जिल्लाका उत्कृष्ट पाँच किसानलाई पुरस्कारसहित सम्मान गरेको छ । आइतबार २२औँ राष्ट्रिय धान दिवसका अवसरमा कृषकलाई जनही रु १० हजार र प्रमाणपत्रले सम्मान गरिएको केन्द्रले जनाएको छ ।

ज्ञान केन्द्रले ढोरपाटन नगरपालिका–१ भब्रेटाका चन्द्रलाल पाण्डे, बागलुङ नगरपालिका–११ का नन्दलाल जैसी, वडा नम्बर ७ का ओमराज शर्मा, वडा नम्बर ४ का तिलोचन सापकोटा र ढोरपाटन–५ का हिमाल कुमार पुनलाई सम्मान गरेको हो ।

कृषकहरुको हौसला बढाउन र कृषि पेसालाई सम्मानित बनाउन पुरस्कृत गरिएको कषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले बताउनुभयो । हरेक वर्ष किसानलाई ज्ञान केन्द्रले पुरस्कृत गर्दै आएको उहाँको भनाइ छ ।

पुरस्कृत हुनुभएका ढोरपाटन नगरपालिका–१ का चन्द्रलाल पाण्डेले पुरस्कारले आफूलाई हौसला थपेको बताउनुभयो । आफूले २० वर्षदेखि निरन्तर व्यावसायिक रुपमा तरकारी र दूध उत्पादन गर्दै आएको तर अहिलेसम्म कहीँकतैबाट पुरस्कार नपाएको उहाँको भनाइ छ । पाण्डेले भन्नुभयो, “कृषि ज्ञान केन्द्रले सबै किसानलाई अनुदान र प्राबिधिक सहयोग गर्दै आएको छ, यस वर्ष मलाई सम्मान गरेपछि थप हौसला मिलेको छ ।”

टिप्पणिहरु
Loading...