रामपुर (पाल्पा), ३ असारः जलवायु परिवर्तनका असर न्युनिकरण गर्न उपभोक्तालाई सचेत गराइएको छ । रामपुरमा कृषक पाठशाला सञ्चालन गरी यहाँका उपभोक्तालाई जलवायु उत्थानशील समुदाय र पारिस्थितिकीय प्रणालीका सम्बन्धमा प्रशिक्षण दिइएको छ ।
यहाँ १८ हप्तासम्म आयोजित कृषक पाठशालामा सहभागीलाई जलाधारको महत्व, संरक्षणका उपाय, डढेलो लाग्न नदिने उपाय, उपभोक्तालाई उद्यमसँग जोड्ने विषयमा प्रशिक्षण दिइएको छ ।
पाठशाला अवधिभर उपभोक्ता समूहको काम कर्तव्य र अधिकारको सुनिश्चितता, सामुदायिक वनको कार्ययोजना तयार गरी कार्यान्वयन गराउने, नेतृत्व विकास तालिमसमेत प्रदान गरिएको छ ।
जलवायु परिवर्तनले हाम्रो खेती प्रणालीमा असर पार्ने भएकाले त्यसको असर घटाउन पाठशाला सञ्चालन गरी सहभागीलाई प्रशिक्षण दिइएको सामुदायिक वन महासङ्घ पाल्पाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।
“वन हाम्रो जीवनको आधार भएकाले यसको संरक्षण र दिगोपन सुनिश्चित नगरी जलवायु परिवर्तनसँग लड्न सकिँदैन, वनको दिगो व्यवस्थापनले सामुदायिक वन उपभोक्ताको जीविकोपार्जन सुधार्न सक्ने अवसर पनि प्रदान गर्नेछ” उहाँले भन्नुभयो ।
पाठशालाबाट सिकाइएका जलवायु उत्थानशील अभ्यास कृषकले आफ्नो जीवनशैलीमा प्रयोग गर्न सके जलवायु परिवर्तनका असर घटाउन सकिने र त्यसले वन तथा वातावरण संरक्षणमा टेवा दिने राम्चे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विष्णुप्रसाद बस्यालले बताउनुभयो ।
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाको आर्थिक सहयोग, सामुदायिक वन महासङ्घको आयोजना र राम्चे सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा पाठशाला सञ्चालन भएको हो । पाठशालामा १२ महिला र आठ पुरुष सहभागी थिए ।