Admission Open

आजदेखि नेपालबाट भारतबाहेक सबै देशका उडान रद्द

काठमाडौँ, २४ वैशाख : सरकारले आजदेखि लागू हुने गरी नेपालबाट भारतबाहेक सबै देशका लागि हुने अन्तर्राष्ट्रिय उडान रद्द गरेको हो।

कोरोना महामारीको दोस्रो लहरले गाँज्न थालेपछि नियन्त्रणका लागि मन्त्रिपरिषद्को गत आइतबार बसेको बैठकले नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानका सम्बन्धमा उक्त निर्णय गरेको थियो।

सोही निर्णयअनुसार मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक र अन्तर्राष्ट्रिय उडानबारे आवश्यक व्यवस्था गरेको छ।

प्राधिकरणका अनुसार बिहीबार मध्यरातिखि नेपालबाट भारतबाहेक हुने सबै नियमित यात्रुवाहक उडान रद्द हुनेछन्। यो नियम वैशाख ३१ गतेसम्म लागू हुनेछ।

प्राधिकरणका प्रबन्धक हिराजन काफ्लेले भारतका लागि भने सातामा दुई उडानमात्र हुने बताए। नेपाल र भारतबीच भएको ‘एयर ट्राभल बबल सम्झौता’ अनुसार प्रत्येक साता दुईवटा यात्रुवाहक उडान हुने उनले बताए।

नेपालबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र भारतबाट त्यहाँको सरकारी वायुसेवा एयर इन्डियाले एक–एक उडान गर्नेछन्। दुवै उडानमा स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड कडाइका साथ पालन गरिने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार वायुसेवा निगम र एयर इन्डियाको समन्वयमा नेपाल पर्यटन बोर्डले भारतबाट आउने यात्रुहरूको विवरण लिई प्रत्येक उडानका यात्रुका निम्ति होटल क्वारेन्टिनका लागि सहजीकरण गर्नेछन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतबाट हवाई मार्ग हुँदै आउने यात्रुलाई अनिवार्य १० दिन होटल क्वारेन्टिनमा राख्न आठ होटल तोकिसकेको छ।

पर्यटन मन्त्रालयका अनुसार ती होटलमा न्यूनतम १० देखि ९१ वटासम्म कोठा उपलब्ध छन्। काठमाडौंको गुह्येश्वरीस्थित माधव होटल, एयरपोर्ट होटल तथा गौशालाका अमादब्लम होटल, रिडर्स इन र आनन्द आश्रम, भक्तपुर जगातीका फार्म हाउस रिसोर्ट र ए वान रिसोर्ट एवं ललितपुर गोदावरीको होटल भ्यु भृकुटीलाई क्वारेन्टिन होटल तोकिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने यात्रुलाई ती होटलले आफ्ना गाडीमा होटलसम्म ल्याउनुका साथै खाना तथा बसोबासको व्यवस्था गनेछन्।

होटलहरूले प्रतिदिन प्रतियात्रु मूल्य अभिवृद्धि कर ९भ्याट० र सेवा शुल्कसहित बढीमा ३ हजार रुपैयाँ लिन पाउनेछन् भने यति रकम लिएपछि विमानस्थलबाट होटल ल्याउने, बास बस्ने तथा बिहान, दिउँसो र राति खाना खुवाउने व्यवस्था गर्नुपर्ने छ।

यात्रु र होटलले स्वास्थ्य मापदण्ड पालना गरे–नगरेको सम्बन्धमा पर्यटन विभागका महानिर्देशक, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत र नेपाल प्रहरीको संयुक्त टोलीले अनुगमन गरी दैनिक प्रतिवेदन नियमितरूपमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी०, पर्यटन मन्त्रालय र गृह मन्त्रालयमा पेस गर्नुपर्ने छ।

त्यसैगरी सम्बन्धित यात्रुले १० दिनको होटल क्वारेन्टिनको मापदण्ड पालना नगरेको पाइए संक्रामक रोग ऐन २०२० अनुसार कानुनी कारबाही गरिने, यात्रु १० दिनको होटल क्वारेन्टिन नबसेको पाइए सम्बन्धित होटलले तुरुन्त स्थानीय प्रशासनलाई सूचित गर्ने र नगरेको पाइए कानुनी कारबाही गरिने पर्यटन मन्त्रालयले जनाएको छ।

यदि जहाजमा यात्रारत कुनै यात्रु कोरोना भाइरस संक्रमित भेटिए त्यस जहाजमा रहेका सबै यात्रुको होटल क्वारेन्टिनमा बेहोर्नुपर्ने सम्पूर्ण रकम सोही संक्रमित यात्रुबाट असुलउपर गरिने प्राधिकरणले जनाएको छ।

त्यसैगरी त्रिभुवन विमानस्थल ओर्लिएका यात्रुले आफ्नो तस्बिरसहितको परिचयपत्र र नेगेटिभ पिसिआर रिपोर्ट र बारकोड पेस गर्नुपर्ने प्राधिकरणको भनाइ छ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...