Admission Open

प्रधानाध्यापक यादवले लापरबाही गरेको आरोप : विद्यार्थीले लगाए विद्यालयमा ताला


काठमाडौँ : खोटाङको हलेसी तुवाचुङ नगरपालिका –११ राजापानीस्थित ज्योति माध्यमिक विद्यालयमा विद्यार्थीले ताला लगाएका छन् ।

प्रधानाध्यापक रामदेव यादवले लापरबाही गरेको भन्दै विद्यार्थीले विद्यालयको प्रशासन कार्यकालमा ताला लगाएका हुन् ।विद्यालयमा माघ २ गतेसम्मका लागि हिउँदे बिदा गरिएको थियो । सरकारले माघ २ गते सार्वजनिक बिदा दिएका कारण विद्यालय ३ गतेबाट सञ्चालनमा आउनुपर्ने थियो । ३ गतेदेखि नै विद्यालयका ढोकाहरू खुले पनि प्रधानाध्यापक यादवसहित अन्य ५ जना शिक्षक विद्यालयमा अनुपस्थित रहेको विद्यार्थीको भनाइ छ ।

माघ ५ गते बिहीबारसम्म पनि शिक्षकहरूको अत्तोपत्तो नभएपछि विद्यार्थी आक्रोशित बन्दै विद्यालयमा ताला लगाएका छन् । विद्यालयमा उत्पन्न समस्या समाधानको माग गर्दै विद्यार्थीले वडामा निवेदनसमेत दिएको राजापानीका वडाध्यक्ष अनीश कार्कीले बताउनुभयो ।

वडाध्यक्ष कार्कीलगायत जनप्रतिनिधि शुक्रबार गएर प्रधानाध्यापक आएपछि छलफल गर्ने गरी विद्यालयको ताला खोल्न अनुरोध गर्दा पनि विद्यार्थीले नमानेको वडा अध्यक्ष कार्कीले बताउनुभयो । प्रधानाध्यापक यादवले पटक पटक विद्यालयमा लापरबाही गरेको विद्यार्थीको आरोप छ ।

आउने सोमबार छलफल गरेर समस्याको समाधान खोजिने वडाध्यक्ष कार्कीले बताउनुभयो । यता प्रधानाध्यापक यादवले भने आफू विद्यालयकै कामले बाहिर रहेको बताउनुभयो ।

हिउँदे बिदामा लहानस्थित घर आएको, कक्षा ११ र १२ का विद्यार्थीको परीक्षा फाराम र राजश्व परीक्षा बोर्ड कार्यालय लहानमै बुझाउनु पर्ने भएकाले आउन केही दिन ढिला भएको उहाँको भनाइ छ । अन्य शिक्षकलाई समयमै विद्यालयमा आउन जान भनेर आफू विद्यालयको कामले मात्र बाहिर निस्कनेगरेको प्रधानाध्यापक यादवले प्रतिक्रिया दिनुभयो । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...