Admission Open

ad place

बादशाह र म

कविता

# बिक्रम मुडभरी

धुलो लागेका इतिहासका
पानाहरु टक्टकाएर
मैले फेरि हेरें ती दृश्यहरु
बादशाहका सोखहरु
धुलो माटोमा हुर्केको भुइँ मान्छे म
तुलना त कसरी होला र
बादशाहहरु हिजो पनि बादशाह थिए
आज पनि छन् र भोलि पनि हुनेछन्
रातदिन पसिना निकालेर
पहाड पर्बत फोर्दा पनि
खान, लाउन नपुग्ने म
आज पनि त्यही अबस्थामा छु
निहालेर हेर्दा श्रापित इतिहासका पानाहरु
देख्छु धारिला तलबारहरु
७ साल देखि ७८ साल
इतिहासका रक्तिम दागहरुबाट
बर्तमानको सग्लो समाबेशी गणतन्त्रमा आउँदा
म जस्ता भुइँ मान्छेले पाएका कुराहरु के हुन् ?
फेरि पाउछु नयाँ पियानोमा
पुराना संगीतका रागहरु ।

शिरको श्रीपेच निकालेर
संग्रहालयमा सजाए पनि
मनको श्रीपेच लगाएर
नयाँ बादशाह जन्मिरहेको देख्छु
जति घोटेर पिलाए पनि
सिद्धान्त,आदर्श र दर्शनको अमृतरस
पापी पेटले माग्ने भनेको भात नै हो
नाङो शरीरले माग्ने कपडा हो भने
सडकको बासले माग्ने भनेको छानो हो
यसकारण चसक्क दुख्छ मुटु
सोध्छु ती निर्दोष शालिकहरुलार्इ पनि
जो शहीद कहलाएर एकदिन माला पहिरिदैं
बाँकी दिन अपमानको पीडा बोक्छ्न्
सपना देखाउनेहरुले नै आज
हाम्रो शिरमा टेकेका छ्न् ।

दाग लागेका इतिहासका पानाहरुबाट
निस्केर बादशाही तलबार
मेरै शिकार गरिरहेको देख्छु
लावालस्कर ,जुलुस र जयजयकार
यता म छट्पटिरहेको छु
गास ,बास ,कपास र उपचार नपाएर
उ भने नयाँ घोडामा सवार
बिजय यात्रामा निस्केको
अबिर जात्रा गर्दै
७ सालदेखि ७८ साल
खोइ कुन वाद कुन विवाद
केवल उही राजर्सी ठाँटबाँट
उही शान, उही मान
फेरि पल्टाएर हेर्छु इतिहासका काला दागहरु
अनि भोलिको इतिहासलाई दाग लगाउन
तयार बर्तमान पनि
बादशाह र म अनि पराजित इतिहास ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...