Admission Open

टान निर्वाचन : अध्यक्षका लागि तीन व्यवसायी मैदानमा, १२ सयभन्दा बढी मतदाता

काठमाडौं : पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को निर्वाचनका लागि बाह्र सयभन्दा बढी मतदाता रहेका छन् । यही साउन ३० गते हुने टानको ४४औँ साधारणसभा एवं नयाँ कार्यसमिति चयनका लागि हुने मतदानका लागि एक हजार दुईसय ५० मतदाता पुगेका हुन् । टान निर्वाचन कार्यक्रमअन्तर्गत आज साँझ अन्तिम मतदाता नामावली प्रकाशन गरिएको टान सचिवालयले जनाएको छ ।

निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारको मनोनयन भोलि साउन २६ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । उम्मेदवारको प्रथम चरणको नामावली साँझ ५ बजेसम्म प्रकाशन गरिनेछ । साउन २८ गते बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । उम्मेदवारको नाम उपर दाबी विरोधमा उजुरी दिन साउन २७ गते दिउँसो १२ बजेसम्म समयावधि तोकिएको छ ।

टान निर्वाचनमा अध्यक्ष पदका लागि तीन व्यवसायी चुनावी प्रतिस्पर्धामा छन्। नीलहरि बाँस्तोला, कमल सापकोटा र बोधराज भण्डारीले उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षका प्रत्यासी बाँस्तोलालाई नेपाली कांग्रेस निकट लोकतान्त्रिक पर्यटन व्यवसायी संघ, नेकपा एमाले निकट पर्यटन व्यवसायी संगठन र नेकपा एकीकृत समाजवादी निकट पर्यटन व्यवसायी संगठनले चुनावी सहकार्य गर्ने भएका छन् ।

नेकपा (माओवादी केन्द्र) निकट व्यवसायी सापकोटा र स्वतन्त्र उम्मेदवारका रुपमा भण्डारीको प्रतिस्पर्धा हुनेछ । टानका पूर्वअध्यक्ष दीपक महतले सुस्ताएको पर्यटन क्षेत्रमा नयाँ गतिदिने नेतृत्व टान निर्वाचनबाट चयन हुनुपर्ने बताए। उनले टानलाई व्यवसायमैत्री बनाएर सेवालाई चुस्तदुरुस्त बनाइनुपर्ने खाँचो औँल्याए ।

टानको केन्द्रीय कार्यसमितिको निर्वाचनमा अध्यक्षसहित १७ पदाधिकारी तथा सदस्य निर्वाचित हुनेछन् । जसमध्ये वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष र द्वितीय उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष तथा नौ जना (महिला एक जना र खुल्ला सदस्य आठ जना) सदस्य रहेका छन् । टानको २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गरिनेछ । टानमा एक हजार आठसय ५० हाराहारी व्यवसायी आबद्ध छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...