Admission Open

कपिलवस्तुमा दमकल अभाव

चन्द्रौटा, ५ चैत : कपिलवस्तुमा दमकलको अभाव देखिएको छ । आगलागी हुने समय आएसँगै जिल्लामा रहेका स्थानीय तहले दमकलका लागि कुनै पहल गरेका छैनन् । दश स्थानीय तह रहेको कपिलवस्तुमा तीन स्थानीय तहसँग मात्र दमकल छन् । बाँकी सात स्थानीय तहले अप्ठ्यरामा मागेरै काम चलाउने गरेका छन् ।

यहाँ हरेक वर्ष आगलागीका कैयौँ घटना हुने गरेका छन् । हावाहुरीसँगै आगलागीको मौसम शुरु भएकाले नियन्त्रणका लागि दमकलको अभाव खड्किएको छ । जिल्ला सदरमुकाम वरपरका छ पालिकालाई कपिलवस्तु नगरपालिकाले दमकलबाट सेवा उपलब्ध गराउँदै आएको छ । बुद्धभूमि नगरपालिकाबाहेक अन्य पालिकाले दमकल प्रयोग गर्ने तर मर्मत र इन्धन खर्चसमेत नदिँदा दमकल सञ्चालनमा समस्या आएको कपिलवस्तुका नगर प्रमुख किरण सिंहले बताउनुभयो ।

आगलागीको सूचना आउना साथ दमकल पठाए पनि सञ्चालन र व्यवस्थापनमा अन्य स्थानीय तहले चाँसो नदिएको कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहको भनाइ छ । आगलागीको उच्च जोखिम रहेका क्षेत्रलाई विशेष प्राथमिकता दिएर त्यस नजिकै दमकल राख्नुुपर्ने शाहले बताउनुुभयो ।

गाडी खरीद गर्ने, भाडामा लिएर चढ्ने र अन्य सवारी खरीद गरेका स्थानीय तहले दमकल खरीदमा भने त्यति चाँसो देखाएको पाइँदैन । सबैभन्दा बढी फुसको कच्ची घर भएका विजयनगर गाउँपालिका, महाराजगञ्ज नगरपालिका, शिवराज नगरपालिका, बुद्धभूमि नगरपालिका, यशोधरा, शुद्धोधन र मायादेवी गाउँपालिकाले दमकल खरीद गरेका छैनन् । कृष्णनगर, कपिलवस्तु र वाणगङ्गामा सञ्चालित दमकललाई आवश्यक सेवा लिनका लागि कुनै सम्झौता वा आर्थिक अनुदानसमेत उपलब्ध गराएका छैनन् ।

आगलागीका कारण जिल्लामा प्रत्येक वर्ष लाखाँै जनधनको क्षति र मानिसको अकालमै मृत्युु हुने गरेको भए पनि आगलागी तथा अन्य प्राकृतिक प्रकोप न्यूनीकरणतर्फ भने कुनै बजेट विनियोजन गरेको पाइँदैन । आफ्नो नगरक्षेत्रमा हुने सम्भावित आगलागीका घटना न्यूनीकरणका लागि पालिकाले बेवास्ता गरेको सरोकारवालाको आरोप छ  । दमकल खरीद गर्न शिवराज, महाराजगञ्ज र बुद्धभूमि नगरपालिकाले चासो नदेखाएको स्थानीयवासी बताउँछन् ।

विजनगर अध्यक्ष गोपाल थापाले तत्काल दमकल किन्ने योजना नभएको तर गाउँगाउँमा जनचेतना बढाएको र आगलागीका घटना भएको खण्डमा कृष्णनगर नगरपालिकासँग सम्पर्कमै रहेको बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...