Admission Open

आरोप प्रत्यारोपमा रुमलिँदै नूनथर

सर्लाही र रौतहटको सिमानामा रहेको वाग्मती नदी किनारमा पर्ने नूनथर क्षेत्रमा अझै अपेक्षाकृत विकास हुन नसकेको स्थानीयवासीको गुनासो छ । प्रदेश २ कै उत्कृष्ट पर्यटकीय गन्तव्य चन्द्रपुर नगरपालिका–१ मा पर्ने नूनथर क्षेत्रका लागि पटकपटक विभिन्न शीर्षकमा बजेट विनियोजन भएको भए पनि बजेटको सदुपयोग नभएको स्थानीयवासीले गुनासो गरेका छन् ।

बजेटअनुसारको विकासको काम नभएको र भएका काम पनि गुणस्तरहीन भएको स्थानीयवासीको भनाइ छ । पहुँचवालाले स्थानीय विकासको नाममा नदी दोहन गरिरहेका उनीहरुको आरोप छ । उपभोक्ता समितिमार्फत भएको योजनामा एकलौटी तरिकाले काम गरेको र समितिका पदधिकारीसँग सल्लाहसमेत नगरेको स्थानीय कपिल माझीले गुनासो गर्नुभयो ।

नूनथर क्षेत्र प्रवेशमा लिइँदै आएको शुल्कको रकम पनि अनियमित हुने गरेको आशङ्का सर्वसाधारणले गरेका छन् । चन्द्रपुर नगरपालिकालाई राजश्व दाखिलासमेत नगरी चन्द्रपुर नगरपालिका–१ का वडाध्यक्ष वीरबहादुर रखालले रकम अपारदर्शी ढङ्गले असुल्ने गरेको पाइएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले बताउनुभयो ।

वडाध्यक्ष रखालले भने प्रक्रिया सङ्गत ढङ्गले काम गरेको बताउनुभयो । नूनथर विकास समितिले प्रक्रियासङ्गत तरिकाले काम गरेको उहाँको भनाइ छ । उहाँले नगरपालिका र नूनथर विकास समितिले सिधैँ सम्झौता गरेर काम गरेको पनि बताउनुभयो । चन्द्रपुर नगरपालिकाको लेखा अधिकृत कृति सुवेदीका अनुसार नूनथर विकास समितिले प्रवेश शुल्क काट्दा ३० प्रतिशत नगरपालिकाको राजश्व शाखामा बुझाउने र बाँकी रहेको ७० प्रतिशत नूनथर विकास समितिमा राखेर सरसफाइलगायतको काममा खर्च गर्ने नगरपालिका नगर कार्यपालिकाले निर्णय नै गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...