
काठमाडौं, १५ माघ
नेपाल र मरिसकेको पहिलाे मैत्रीपूर्ण खेलमा नेपालले जित हात पारेको छ ।
नेपालले मरिससलाई १-0 गोलले पराजित गरेको हो ।
शनिबार दशरथ रंगशालामा भएको खेलमा नेपालको लागि विमल घर्तीमगरले निर्णयक गोल गरेका हुन् । विमलले खेलको ५५ औं मिनेटमा अञ्जन बिष्टको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् । २६ महिनापछि राष्ट्रिय टिममा फर्केर विमलले नेपालको लागि निर्णायक गोल गरेका हुन् । नेपालको लागि विमलको यो नवौं अन्तर्राष्ट्रिय गोल हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा नेपालले अग्रता लिएको थियो । नेपालले दोश्रो हाफमा दुईवटा गोल गर्ने राम्रो अवसर बनाएको थियो। अन्जन विष्टले डि बक्सबाट उत्कृष्ट प्रहार गर्दा पोलमा लागेको थियो । त्यस्तै, सुमन लामाको प्रहार पनि बारमा लागेर फर्किएको थियो ।
मोरिससले पनि खेलको ३५ औं मिनेटमा अग्रता लिने सुनौलो अवसर गुमाएको थियो । एड्रियन फ्रान्कोइसले डिबक्सबाट हानेको प्रहारलाई नेपालका गोलकिपर किरणकुमार लिम्बुले विफल पारेका थिए ।
यो जितसँगै नेपालले एघार बर्ष पछि मैत्रीपूर्ण खेलमा जित निकालेको छ । सन् २०११ मा भुटानलाई पराजित गरेपछि नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जितविहीन थियो ।
अब नेपाल र मोरिससको दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ ।