काठमाडौँ, १२ पुस
सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार भएको छैटौं चरणको अन्तिम खेलमा जावलाखेलले सातदोबाटो युथ क्लबलाई २-० गोलले हराउँदै अंक तालिकामा नवौं स्थानमा उक्लेको छ ।
लिगमा जावलाखेलको यो लगातार दोस्रो जित हो । यसअघि जावलाखेलले च्यासल युथ क्लबलाई १ – 0 गोलले हराएको थियो ।
दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा भने जावलाखेलले दुई गोल गर्न सफल भयो ।
५०औं मिनेटमा विपिन कडेँलको गोलबाट जावलाखेलले खेलमा अग्रता लियो। उनले ओङवाना जुनियरको क्रसमा गोल गरेका थिए ।
यस्तै ७०औं मिनेटमा निकोलस फर्नान्डेजले जावलाखेलको अग्रता दोब्बर पारे। उनले रुप बहादुर लामाको पासमा करीब २५ यार्डबाट गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।
जितसँगै जावलाखेल ६ खेलबाट ७ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ।
नवप्रवेशी सातदोबाटोको भने ६ खेलबाट ८ अंकसहित पाँचौ स्थानमै यथावत छ ।
आजको यो खेलसँगै लिगको छैटौं चरणका खेल सकिएका छन्।
अहिले सम्म मछिन्द्र फुटबल क्लब १४ अंक जोड्दै शीर्ष स्थानमा छ। त्यस्तै, दोस्रो स्थानको मनाङको १३ अंक छ भने संकटा क्लब १२ अंकसहित तेस्रो स्थानमा छ भने १० अंक सहित त्रिभुवन आर्मी क्लब चौथो स्थानमा छ ।