Admission Open

ad place

संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौँ, २० चैतः सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारी निकाय तथा सार्वजनिक संस्थाको संस्थागत क्षमता विकासमार्फत नागरिकलाई सहज, छरितो र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।

सार्वजनिक सेवा प्रशारण, रेडियो नेपालको ७६औँ वार्षिकोत्सवका अवसरमा सञ्चारमन्त्री डा तिमिल्सिनाले संस्थालाई बलियो, जवाफदेही र परिणाममुखी बनाउने दिशामा मन्त्रालय नयाँ ऊर्जा र गतिका साथ अघि बढिसकेको स्पष्ट गर्नुभयो ।

उहाँले भन्नुभयो, “सरकारका निकायहरू बलिया भए मात्र नागरिकले सहज र गुणस्तरीय सेवा पाउँछन् । त्यसैले के गर्दा संस्था बलियो हुन्छ भन्ने विषयमा मन्त्रालयले नयाँ ढङ्गले काम अघि बढाएको छ । बलियो, जवाफदेही र प्रभावकारी संस्था निर्माणको विकल्प छैन ।”

सञ्चारमन्त्री डा तिमिल्सिनाले प्रतिनिधिसभा निर्वाचनपछि युवाको काँधमा देश सञ्चालनको जिम्मेवारी आएको उल्लेख गर्दै राजनीतिक र प्रशासनिक संरचनामा देखिएका नकारात्मक प्रवृत्तिलाई परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । “राजनीतिक रूपमा हाम्रा संस्थामा नकारात्मकता हावी भएको छ । देशले खोजिरहेको दिशा पहिचान गरेर हामीले त्यसअनुसार परिवर्तन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “राजनीतिक मूल सुध्रियो, अब हरेक संस्था सुध्रिने र हरेक नागरिकले आफ्नो दायित्व पूरा गर्ने बेला आएको छ ।”

जवाफदेहिता र अनुशासनमा कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै सञ्चारमन्त्री डा तिमिल्सिनाले भन्नुभयो, “हामी आफैँ एक इन्च पनि नराम्रो गर्दैनौँ र नराम्रो गर्नेलाई छोड्दैनौँ । जहाँ कमजोरी छ, त्यहाँ कारबाही गर्छौं । सेटिङ गर्नेहरूलाई कानुनी दायरामा ल्याउन मन्त्रालय र सरकारले काम गरिरहेको छ ।”

सरकारी खर्चमा मितव्ययिता अपनाउनुपर्नेमा जोड दिँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले अनावश्यक खर्च नियन्त्रण, प्रभावकारी सूचना सम्प्रेषण र सुशासनबीचको सम्बन्धलाई स्पष्ट पार्नुभयो । साथै, आगामी पाँच वर्षभित्र युवालाई विदेशिनु नपर्ने अवस्था सिर्जना गर्ने लक्ष्यमा नागरिकको समान जिम्मेवारी रहने उहाँले उल्लेख गर्नुभयो ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले लोकतान्त्रिक व्यवस्थामा सूचना नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै सार्वजनिक सेवा प्रसारण संस्थाहरूले त्यसको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो । बदलिँदो सञ्चार प्रविधि, बजार प्रतिस्पर्धा र दर्शक–श्रोताको बदलिँदो चाहनालाई ध्यानमा राख्दै सार्वजनिक सेवा प्रसारणलाई अझ प्रभावकारी, विश्वसनीय र जनमुखी बनाउनु आवश्यक रहेको उहाँको भनाइ थियो ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले आफ्नो विद्यार्थी जीवन सम्झँदै रेडियो नेपालले आफूलाई साहित्य लेखनतर्फ प्रेरित गरेको उल्लेख गर्दै सार्वजनिक सेवा प्रसारण संस्थाले समाज निर्माणमा दीर्घकालीन प्रभाव पार्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले रेडियो नेपालले नागरिकको सुसूचित हुन पाउने अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । रेडियो नेपालले विश्वसनीय सूचना सम्प्रेषणसँगै भाषा, संस्कृति र पहिचानको प्रवर्द्धनमा योगदान पु¥याउँदै आएको उहाँको भनाइ थियो ।

सचिव बस्नेतले भन्नुभयो, “रेडियो नेपालले २६ भाषामा समाचार र २५ भाषामा कार्यक्रम सञ्चालन गर्दै विविधता संरक्षण गरेको छ । प्रविधिमैत्री माध्यममार्फत पुराना गीतसङ्गीतको संरक्षण र प्रवर्द्धनमा यसको महत्वपूर्ण भूमिका छ ।”

सार्वजनिक सेवा प्रशारण नेपालका अध्यक्ष डा महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारणको अवधारणा अनुरूप स्वतन्त्र, निष्पक्ष र जनकेन्द्रित ढङ्गले काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै नेपालमा यस क्षेत्रको सुधारका लागि ऐनसमेत जारी भइसकेको तथा सोही अनुरुप अघि बढ्रिहेको बताउनुभयो ।

विसं २००७ चैत २० गते स्थापना भएको रेडियो नेपालले हाल देशको करिब ९४ प्रतिशत जनसङ्ख्यासम्म पुग्ने गरी सेवा विस्तार गरेको छ । प्रजातन्त्र स्थापनाकालदेखि विभिन्न राजनीतिक परिवर्तन, प्राकृतिक प्रकोप तथा विपद्का कठिन समयमा समेत रेडियो नेपालले नागरिकलाई निरन्तर सत्य तथ्य र आधिकारिक सूचना सेवा दिँदै आएको छ । (RSS)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...