
काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले श्री दीप्ति आचार्यलाई सन् २०२५–२०२६ का लागि आईसीएको राजदूतमा नियुक्त गरेको छ ।
संस्कृति इन्टरनेशनल स्कुलकी संस्थापक निर्देशक आचार्यले नेपाल तथा छिमेकी देशहरूमा आईसीएको प्रतिनिधित्व गर्नु हुनेछ । अहाँले इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) अन्तर्गत सञ्चालित International Early Years Curriculum (IEYC), International Primary Curriculum (IPC) / International Middle Years Curriculum (IMYC) मार्फत सिकाइ सुधारमा प्रतिबद्ध शिक्षकहरूको सञ्जाल विस्तार र सुदृढ गर्न भूमिका खेल्नु हुनेछ ।
यो नियुक्तिले दुई दशकदेखि निरन्तर प्रगतिशील शिक्षाका लागि आचार्यले गरेको समर्पणको कदर गरेको छ । उहाँको नेतृत्वमा सञ्चालित संस्कृति इन्टरनेशनल स्कुल दक्षिण एसियामा प्रतिष्ठित International Primary Curriculum (IPC) मान्यता प्राप्त गर्ने पहिलो विद्यालय बन्न सफल भएको थियो ।
राजदूतका रूपमा नियुक्त भएपछि अब उहाँले अन्य विद्यालयहरूलाई पनि मार्गदर्शन गर्ने, तालिम सञ्चालन गर्ने तथा अन्तर्राष्ट्रिय पाठ्यक्रमहरूको गुणस्तरीय कार्यान्वयनलाई क्षेत्रभर प्रवद्र्धन गर्ने भूमिका निर्वाह गर्नु हुनेछ ।
राजदूत नियुक्तिका विषयमा बोल्दै इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) की निर्देशक Sarah Blackmore ले भन्नुभयो, “हामी दीप्ति आचार्यलाई आईसीएको राजदूतका रूपमा सम्मानपूर्वक नियुक्त गर्न पाउँदा अत्यन्त हर्षित छौं । गुणस्तरीय शिक्षाप्रति उहाँको अटल प्रतिबद्धता र नेपालमा अन्तर्राष्ट्रिय पाठ्यक्रम स्थापना गर्न खेल्नुभएको महत्वपूर्ण भूमिकाले उहाँलाई एसिया–प्रशान्त क्षेत्रमा विस्तार हुँदै गएको हाम्रो विद्यालय समुदायलाई मार्गदर्शन र प्रेरणा दिन उपयुक्त प्रतिनिधि बनाएको छ ।
आईसीएको यस ‘आईसीए एम्बासडर’ कार्यक्रमले ‘Improving Learning’ दर्शनलाई उत्कृष्ट रूपमा बुझेर प्रभावकारी कार्यान्वयन गरेका अनुभवी शैक्षिक नेतृत्वकर्ताहरूलाई छनोट गर्ने गर्दछ । आचार्यको कार्यकाल अन्तर्राष्ट्रिय विद्यालयहरूको सञ्जाल सुदृढ बनाउने तथा शिक्षण विधि र नेतृत्वका उत्कृष्ट अभ्यासहरू प्रवद्र्धन गर्नेमा केन्द्रित रहनेछ ।
दीप्ति आचार्यको संक्षिप्त परिचय
दीप्ति आचार्य संस्कृति इन्टरनेशनल स्कुलकी संस्थापक निर्देशक हुनुहुन्छ । उहाँ नेपालमा प्रगतिशील शिक्षाको अगुवा व्यक्तित्वका रूपमा चिनिनुहुन्छ । त्यस्तै उहाँ एएमआई–प्रशिक्षित मन्टेश्वरी शिक्षिका हुनुका साथै अमेरिकाबाट मन्टेश्वरी शिक्षामा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ । आचार्य विगत पाँच वर्षदेखि अन्तर्राष्ट्रिय ट्रेनरका रूपमा पनि क्रियाशिल हुनुहुन्छ ।
शिक्षा क्षेत्रमा योगदानसँगै उहाँ Toastmasters International मा विशिष्ट नेतृत्वकर्ता हुनुहुन्छ र उहाँले जिल्ला तहका उच्च नेतृत्व भूमिकामा कार्य गरिसक्नुभएको छ । साथै, उहाँ समर्पित सामाजिक अभियन्ता हुनुका साथै Zonta Club of Kathmandu की सक्रिय सदस्य पनि हुनुहुन्छ, साथै उहाँले महिला तथा बालबालिकाको अधिकार र हितका लागि वकालत गर्दै आउनुभएको छ ।


