Admission Open

ad place

एमाले अध्यक्ष ओलीले आज चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने

काठमाडौं, ५ फागुन: नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएका छन्। आसन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा–५ बाट उम्मेदवार रहेका ओलीले दिउँसो ३ बजे प्रतिबद्धतापत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको एमाले स्रोतले जनाएको छ।
झापाको दमकस्थित अमरसिंह चोकमा आयोजना गरिएको विशेष कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको सहभागितामा प्रतिबद्धतापत्र सार्वजनिक गरिने तयारी गरिएको छ। कार्यक्रममा ओलीले आफ्नो उम्मेदवारीको औचित्य, विगतमा गरेका कामको समीक्षा तथा आगामी पाँच वर्षका प्राथमिकता र योजनाबारे धारणा राख्ने अपेक्षा गरिएको छ।
एमालेको झापा–५ क्षेत्रीय कमिटीले यसअघि नै ‘किन ओलीलाई भोटरु’ शीर्षकमा ३० बुँदे पर्चा सार्वजनिक गरिसकेको छ। सो पर्चामा पूर्वाधार विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधार, र स्थानीय विकासलाई तीव्रता दिने प्रतिबद्धता समेटिएको बताइएको छ। आज सार्वजनिक हुने प्रतिबद्धतापत्रमा ती विषयलाई अझ विस्तृत रूपमा समेटिने जनाइएको छ।
पार्टीको केन्द्रीय तहबाट जारी गरिने मूल घोषणापत्र पनि यही साता सार्वजनिक गर्ने तयारी भइरहेको एमालेले जनाएको छ। उक्त घोषणापत्रमा राष्ट्रिय अर्थतन्त्र सुदृढीकरण, सुशासन, भ्रष्टाचार नियन्त्रण, उत्पादन वृद्धि तथा युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने कार्यक्रमहरू प्राथमिकतामा रहने अपेक्षा गरिएको छ।
ओली आजको कार्यक्रम सम्पन्न गरी साँझ काठमाडौं फर्कने कार्यक्रम रहेको बताइएको छ। निर्वाचन नजिकिँदै जाँदा प्रमुख दलका शीर्ष नेताहरूले आफ्नो क्षेत्र केन्द्रित चुनावी अभियान तीव्र बनाइरहेका छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...