
काठमाडौँ : कोका–कोलाले क्रिएसनसँगको सहकार्यमा पशुपतिनाथ मन्दिर परिसरमा ‘सफा गरौं’ दिगो सरसफाइ अभियान सुरु गरेको छ । महाशिवरात्रिअघि ११ फेब्रुअरी २०२६ मा उद्घाटन गरिएको यो पहल वर्षभर सञ्चालन हुनेछ । पशुपति क्षेत्र विकास कोषले पनि अभियानलाई समर्थन जनाएको छ ।
महाशिवरात्रिको पाँच दिन अघि र पाँच दिन पछि गरी १० दिन विशेष सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ । अभियानले फोहोर व्यवस्थापन, सार्वजनिक सुरक्षा, सुरक्षित खानेपानी र पुनःप्रयोग (सर्कुलर इकोनोमी) अभ्यासमा जोड दिनेछ । यसका लागि ५०० भन्दा बढी स्वयंसेवक परिचालन गरिनेछन् ।
उद्घाटन कार्यक्रममा बोट्लर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अजय कोनालेले रिसाइक्लिङ प्रणाली सुदृढ बनाउँदै स्थानीय रोजगारी र जिम्मेवार उपभोग प्रवर्द्धन गर्ने उद्देश्य रहेको बताए । कोका–कोला इन्डिया एन्ड साउथ वेस्ट एसियाकी वरिष्ठ निर्देशक सलोनी गोयलले ठूला धार्मिक कार्यक्रममा जिम्मेवार फोहोर व्यवस्थापनमार्फत सफा वातावरण सिर्जना गर्ने लक्ष्य रहेको उल्लेख गरिन् ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले सहकार्यले सरसफाइमा सकारात्मक प्रभाव पारेको बताए । क्रिएसनकी कार्यक्रम निर्देशक सुजाता कोइरालाले अभियानले युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ क्षेत्रलाई स्वच्छ र व्यवस्थित राख्न दीर्घकालीन योगदान दिने विश्वास व्यक्त गरिन् ।
अभियानअन्तर्गत हाइड्रेशन स्टेशन, ट्राइ–बिन, रीसाइकल बेन्च तथा बागमतीमा फोहोर बूम जस्ता संरचना स्थापना गरिएको छ । वर्षभर सञ्चालन हुने यस पहलले पर्वमा मात्रै सीमित नभई दीर्घकालीन फोहोर व्यवस्थापनमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।


