Admission Open

२० लाख बालबालिकाले दादुराको खोप लगाए

काठमाडौं : सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म करिब २० लाख बालबालिकाले खोप लगाइसकेका छन् ।

बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार कुल ५७ लाख ४२ हजार ९९३ बालबालिकामध्ये प्रारम्भिक चरणमा अहिलेसम्म करिब २० लाखले खोप लगाएका हुन् ।

उनका अनुसार ४४ जिल्लाको प्रारम्भिक प्रतिवेदनअनुसार करिब ३४ प्रतिशतले खोप लगाएका हुन् । एकतीस जिल्लाले अझै रिपोर्ट बुझाएका छैनन् ।

“रिपोर्ट पठाएका ती जिल्लाले पनि कोहीले भर्खरै अभियान सञ्चालन गरेका छन्”, उनले भने, “हिमालका ११ जिल्लामा हिउँ परेकाले भर्खरमात्रै अभियान सञ्चालन गरेका छन् ।”

हिउँका कारण मनाङ र मुस्ताङमा अझै खोप अभियान सुरु भएको छैन । दादुरा–रुबेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ देखि आगामी चैत ७ गतेसम्म ७५ जिल्लामा खोप अभियान सञ्चालन गरिएको हो । भूकम्पले प्रभावित भएका जिल्ला रुकुम पश्चिम र जाजरकोटमा यसअघि नै खोप लगाइसकिएको छ ।

भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अति सङ्क्रमित २१ जिल्ला र काठमाडौं उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्ष मुनिका र ५१ जिल्लाका ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइँदैछ । खोप बिहान १० देखि अपराह्न ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोप केन्द्रमा लगाइँदैछ ।

खोप अभियानका लागि देशभरि ४८ हजार ७९८ खोप केन्द्र रहेका छन् । यस्तै ४९ हजार ९३७ स्वास्थ्यकर्मी र ५९ हजार ९०६ स्वयंसेवक परिचालन गरिने छ । शाखाका प्रमुख डा. गौतमले खोप सुरक्षित र प्रभावकारी रहेको जनाउँदै यसले ८५ प्रतिशतलाई दादुरा–रुबेला रोगसँग लड्ने क्षमता विकास गर्ने बताए । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...