Admission Open

ad place

मनाङको कृषि, पर्यटन, सडक र विद्युतीकरणमा जोड

मनाङ : गण्डकी प्रदेश नीति तथा योजना आयोगको आयोजना र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआईडी), जल जङ्गल कार्यक्रमको सहयोगमा विकट हिमाली जिल्ला मनाङको विकासका लागि कृषि, पर्यटन, सडक र विद्युत् विस्तारलाई जोड दिइएको छ । मनाङका निर्वाचित सांसद, जनप्रतिनिधि र स्थानीयवासीले आर्थिक वर्ष २०८०/८१–२०८५/८६ सम्मका लागि दोस्रो पञ्च वर्षीय योजना तर्जुमा सम्बन्धमा गरिएको अन्तक्र्रियामा यस विषयलाई प्राथमिकताका साथ समावेश गरिनुपर्नेमा जोड दिइएको हो ।

प्रतिनिधिसभा सदस्य एवं पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले मनाङको विकासका लागि मुख्यत : कृषि, पर्यटन, सडक र विद्युत् क्षेत्रको विकास हुन आवश्यक भएको बताए । उनले भने, “विशेषगरी यहाँको विकासका लागि स्थानीयवासीले अङ्गालेका कृषि, पर्यटन क्षेत्रलाई सहज बनाउन आवश्यक छ । यसको विकासका लागि सडक मुख्य पाटो बनेको छ भने विद्युतीकरण हुन पनि जरुरी रहेको छ ।”

गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (मनाङे) ले मनाङको विकास हुने खालका कृषि उपजको बजार प्रवद्र्धनका लागि सडक र विद्युतीकरणले पर्यटन क्षेत्रको विकासलाई पनि मुख्य फाइदा पुग्नेगरी पञ्च वर्षीय योजना पुरा गर्नतर्फ लाग्नुपर्नेमा जोड दिए । उनले भने, “मनाङ पर्यटकीय क्षेत्र हो । यहाँ आउन चाहने पर्यटकलाई सहज सडक सञ्जाल बनाउन आवश्यक छ । सडक सहजतासँगै विद्युतीकरण हुनुपर्छ र यसकै माध्यमले यहाँ उत्पादित वस्तुलाई सहजरुपमा प्रवद्र्धन गर्न सकिन्छ ।”

अर्का प्रदेशसभा सदस्य मुनिन्द्र्र गुरुङले मनाङ विकट क्षेत्रमा उत्पादित वस्तु बजारसम्म पु¥याउने वातावरण तयार गर्नुपर्नेमा जोड दिए । उनले यसका लागि सडकको सहज पहुँच बनाउनतर्फ प्रदेश सरकारले कदम चाल्नुपर्ने बताए ।

सांसद गुरुङले भने, “मुख्य समस्या समाधान हुनसके विकटमा बसोबास गर्ने यहाँका आमनागरिकले भोग्नुपरेको सास्तीलाई सहज बनाउन सकिन्छ ।” विकट क्षेत्रको विकाससँगै उत्पादन र उत्पादकत्व अभिवृद्धि तथा कृषि क्षेत्रमा रुपान्तरण गर्नु, विकासका पूर्वाधारको सुदृढीकरण, पर्यटन प्रवद्र्धन, औद्योगिक विकास र रोजगारी सिर्जना गर्नु, विकासका लाभको समन्यायिक वितरण सुनिश्चित गरी सामाजिक न्याय स्थापित गर्नु, गुणस्तरीय सार्वजनिक सेवा र सुशासन अभिवृद्धि गर्नु, मानव पुँजी, उत्थानशील विकास र आर्थिक क्रियाशीलतामार्फत समृद्धि हासिल गर्नु योजना आयोगको उद्देश्य रहेको गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले बताए ।

“आत्मनिर्भर र समुन्नत प्रदेश : सम्मानित प्रदेशवासी” सोच र लक्ष्यका साथ निर्धारण गरिएको योजनाले यहाँको उत्पादकत्व, सामाजिक न्याय र समुन्नति हासिल गर्नसक्नेछौँ”, उनले भने । यहाँ छलफल भएका योजनालाई प्रदेशले प्राथमिकताका साथ पूरा गर्ने गरी कामलाई तीव्रता दिन सकिने उनको भनाइ थियो । कार्यक्रममा मनाङका विभिन्न कार्यालयका प्रमुखको सहभागिता रहेको थियो । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...