झापा / भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर्सको २६औं शाखा झापाको बिर्तामोडमा सञ्चालनमा आएको छ । बिहीबार एक कार्यक्रमबीच भाटभटेनीका प्रवन्ध निर्देशक मीनबहादुर गुरुङले शाखाको उद्घाटन गरे । सनातन धर्मअनुसार पानसमा बत्ती बालेर उनले शाखाको उद्घाटन गरेका हुन् ।
शाखा उद्घाटनको अवसरमा बोल्दै गुरुङले भाटभटेनीले रोजगारीलाई पहिलो प्राथमिकतामा राख्दै शाखा सञ्जाल बिस्तारलाई प्राथमिकतामा राखेको बताए । भाटभटेनीको बिर्तामोड शाखामा मात्रै ३ सय जनाले प्रत्यक्ष रोजगारी पाएको बताइएको छ । ‘धेरै युवाहरु विदेशिएको देखेको छु,’ उनले भने, ‘थोरै भएपनि रोजगारी बृद्धि गर्न पाउँदा म गौरव गर्दछु ।’
भाटभटेनीले हालसम्म काठमाडौं उपत्यकामा १३ वटा शाखा र उपत्यका बाहिर १३ वटा शाखा बिस्तार गर्न सफल भएको छ । बिर्तामोड शाखा १५ कठ्ठा जग्गामा फैलिएको छ । २ लाख स्क्वायर फिटमा सञ्चालनमा आएको शाखामा २ अर्ब रुपैयाँ लगानी भएको बताइएको छ । काठमाडौंको सेवा बिर्तामोडमा प्रदान गर्ने गरी शाखा विस्तार गरिएको भाटभटेनीले जनाएको छ । भाटभटेनीको २७औं शाखा दमकमा खुल्दैछ । दमक शाखा निर्माणाधीन छ ।
शाखा सञ्चालनको अवसरमा २० प्रतिशतसम्म छुट
बिर्तामोड शाखा सञ्चालनमा आएको अवसरमा १० देखि २० प्रतिशतसम्म छुट प्रदान हुने भाटभेटेनीले जनाएको छ । विशेष छुटले बिर्तामोड आसपासका सर्वसाधण उपभोक्ताहरु लाभान्वित हुने विश्वास गरिएको छ । सीमित समयका लागि विशेष छुट उपलब्ध रहेकाले लाभ लिन पनि भाटभटेनीले आग्रह गरेको छ ।
भाटभटेनीमा हालसम्म १० हजार भन्दा बढीलाई रोजगारी
भाटभटेनीले हालसम्म १० हजार भन्दा बढीलाई रोजगारी प्रदान गर्न सफल भएको छ । जहाँ शाखा खुल्छ त्यहाँकै युवालाई पहिलो प्राथमिकतामा दिदै भाटभटेनीले रोजगारी सिर्जना गर्दै आइरहेको छ । यो संख्यालाई आगामी दिनमा अझै बृद्धि गर्ने उद्देश्यमा प्रवन्ध निर्देशक गुरुङ अगाडि बढेका छन् ।