Admission Open

ad place

काठमाडौंमा होस्टेल सञ्चालन गर्न महानगरपालिकासँग अनुमति लिनुपर्ने 

काठमाडौँ, २३ असार / काठमाडौं महानगरपालिकासँग अनुमति नलिइ अबदेखि होस्टेल (छात्राबास) सञ्चालन गर्न नपाइने भएको छ। होस्टेललाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन तथा छात्राबासमा बस्ने विद्यार्थीहरु र सञ्चालकको अधिकतम हित गराउन छात्राबास सञ्चालनसम्बन्धी मापदण्ड २०८० जारी गरिएको महानगरपालिकाले जनाएको छ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (२) को खण्ड (ज) र दफा १०२ को (२) लाई आधार मानेर काठमाडौं महानगरपालिका प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरेर मापदण्ड जारी गरिएको हो। मापदण्ड असार ५ गते जारी भएको हो।

मापदण्डले महानगरपालिकाभित्र छात्राबास (होस्टेल) सञ्चालन गर्न कार्ययोजना, प्रतिवद्धतासहितको निवेदन, वडाको शिफारिस, छात्राबास राख्ने भवनको नक्सा र नक्सा पास प्रमाण पत्र, निर्माण सम्पन्न प्रमाण पत्रसहित कागजातसहित दर्ता प्रक्रियाका जानुपर्छ। आफ्नै घरमा आफैँले सञ्चालन गरेको जग्गाको लालपूर्जा र भाडामा भवन लिएको भए सम्झौताको प्रतिलिपि बुझाउनुपर्छ। स्थलगत अनुगमन तथा वस्तुस्थितिको जाँचपछि महानगरपालिकाको शिक्षा विभागले सञ्चालन अनुमति दिनेछ।

छात्राबासभित्र न्युनतम सबै पूर्वाधार हुनुपर्छ। यसमा शौचालय, भान्छा घर, पानीको आपूर्ति, विद्युत, प्रत्येक छात्रछात्राका लागि पलङ्, दराज र टेबल फोहोरमैला व्यवस्थापन तथा सरसफाइको प्रबन्ध हुनुपर्छ। कोठाहरु फराकिला, खुल्ला हुनुपर्छ। कोठामा पर्याप्त प्रकाश हुनुपर्छ। हावा दोहोरो आउने जाने हुनुपर्छ।

आगलागी जस्ता सम्भावित विपद व्यवस्थापनका लागि फायर इस्टीङ्ग्वीसर लगायत सामग्री तथा उपकरण, प्राथमिक उपचारको लागि सामग्री हुनुपर्छ। कोठा र शौचालयबाहेक अन्य स्थानको निगरानीका लागि सीसीटिभी क्यामरा जडान गर्नुपर्छ। हुलदंगा हुने, प्रदुषण हुने ठाउँमा छात्राबास राख्न हुँदैन। छात्र र छात्राका लागि सञ्चालन गरिने भवन आमनेसामने हुनुहुँदैन। एकबाट अर्कोको दुरी कम्तीमा २ सय मिटर हुनुपर्नेछ। एकै सञ्चालकले दुवै छात्राबास चलाउने भए आन्तरिक व्यवस्थापनको काम समेत छुट्टै भवनबाट सञ्चालन गर्नुपर्छ।

सेवा सुविधा, जिम्मेवारी तथा कर्तव्य, अनुशासन, गोपनीयता, आचारसंहिता सम्बन्धी आन्तरिक नियम बनाउन सक्नेछन्। यस्ता नियम महानगरपालिकामा पेश गरेर सहमति लिनुपर्नेछ।

महानगरपालिकाले तोकेको आकारमा स्पष्ट देखिने गरी परिचय पाटी राख्नुपर्छ। बस्ने छात्रछात्राको हालसालै खिचेको तस्बिर, पहिचान देखिने सरकारी कागज राख्नुपर्छ। असम्बन्धित व्यक्ति भित्र आउन दिनु हुँदैन। शैक्षिक वातावरण मिलाउनुपर्छ। कोठाभित्र मदिराजन्य, लागू पदार्थ, सूर्तिजन्य पदार्थ ओसारपसार, विक्री वितरण र प्रयोग गर्न पाइँदैन। सञ्चालकबाट अभिभावकीय भूमिका निर्वाह गर्नु पर्ने भएकोले उमेर ३० बर्ष पूरा भएको हुनुपर्नेछ।

मापदण्डमा छात्राबाससँग सम्बद्ध व्यक्तिको काम, कर्तव्य र अधिकार, वार्डेनको काम कर्तव्य अधिकार, छात्रछात्राको काम कर्तव्य र अधिकार, अनुगमनलगायत व्यवस्था छन्। शुल्क, दण्ड सजाय, विवाद समाधानसहित विषयलाई ५ वटा परिच्छेदमा व्यवस्था गरिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...