Admission Open

नक्कली शरणार्थी प्रकरण : ‘मिलेमतोमा सल्ट्याउने प्रयास नहोस्,’ सन्तोष परियार (रास्वपा)

काठमाडौँ, १ जेठ  : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन दलका शीर्ष नेताहरू बसेर नक्कली भुटानी शरणार्थी प्रकरण मिलाउने प्रयास भइरहेको हुनसक्ने आशंका व्यक्त गरेको छ।

पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको बढ्दो निकटतालाई रास्वपाले शंका गरेको हो।

आइतबार साँझ सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा तीन दलका शीर्ष नेताहरूको बैठक बसेर नक्कली शरणार्थी प्रकरण मिलेमतोमा सल्ट्याउने प्रयास गर्नु नहुने निष्कर्ष निकालेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संसदीय दलको बैठकमा भ्रष्टाचारको घटना मिलाउनका लागि तीन दलको बैठक बस्नु नहुने पनि स्पष्ट पारे।

उनले आफ्नो पार्टी राजनीतिक लेनदेनमा नबस्ने भन्दै संसद् प्रभावकारी बनाउनुपर्ने बताए। उनले भ्रष्टाचारमा अहिले भइरहेको छानबिनको विषयलाई पार्टीले समर्थन गर्ने तर यतिमा मात्रै खुशी हुने अवस्था नरहेको भन्दै सबै चनाखो भएर रहनुपर्ने अवस्था आएको बताए।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तलमाथि हुन नदिन आफ्नो पार्टी लागिपरेको बताए।

बैठकमा पछिल्लो समय शीर्ष तीन दलका नेताहरूको बैठक बसिरहेको र त्यसले संसद्लाई बन्दी बनाउने अशंका उब्जाएको बताए।

उनले बैठक बस्न मिल्ने तर संसदीय गतिविधिहरू संसद्बाट नै हुनुपर्ने अडान रास्वपाको रहेको जिकिर गरे। उनले संसद्बाट हुनुपर्ने काम कारबाही र निर्णय संसद्बाट नै हुनुपर्ने बताए।

उनले भने, ‘सभापतिले राख्नुभएको कुरा, उहाँहरू बस्न पाउनुहुन्छ, सत्तापक्ष, प्रतिपक्ष, के कसरी लैजाने भन्ने कुराका लागि तर तीन दलका शीर्ष नेताहरू बसेर संसद्लाई बन्दी बनाउन पाइँदैन। संसद्बाट हुनुपर्ने काम कारबाही र निर्णय संसद्बाट नै हुनुपर्छ।’

प्रमुख सचेतक परियारले लोकतन्त्रलाई बलियो बनाउने र प्रभावकारी बनाउने हो भने सबै राजनीतिक पार्टीहरूलाई हैसियत अनुसारको समितिको नेतृत्व दिनुपर्ने स्पष्ट पारे।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...