Admission Open

सुडान द्वन्द्व– अमेरिकी मध्यस्थतामा दुवै सैन्य गुट युद्धविरामका लागि सहमत

काठमाडौँ : सुडानमा दुई सैन्य गुटबीच युद्धविरामको सहमति भएको छ ।

संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा सुडानी सशस्त्र बल एसएएफ र र्‍यापिड सपोर्ट फोर्सेस आरएसएफ ७२ घण्टा युद्धविराम गर्न सहमत भएका हुन् ।

सोमबार मध्यरातदेखि युद्धविराम लागू भएको छ । सङ्घर्षरत दुवै पक्षले युद्धविरामको पालना गर्ने प्रतिबद्धता जनाएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले ४८ घण्टा लामो वार्तापछि सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स आरएसएफबीच सम्झौता भएको बताएका छन् ।

यही वैशाख २ गतेदेखि प्रारम्भ भएको द्वन्द्वमा ४ सयभन्दा बढीको मृत्यु भइसकेको छ । जारी युद्धका कारण हजारौँ घाइते भएका छन् भने ठूलो संख्यामा विदेशीहरू पलायन भएका छन् ।  यसअघिका युद्धविरामका प्रयास असफल भएका थिए ।

राष्ट्रसङ्घीय निकायहरूले ४ सय २७ जना मारिएका तथा ३ हजार ७ सयभन्दा बढी घाइते भएका जनाएका छन् । युद्धमा खार्तुमस्थित इजिप्सेली दूतावासका प्रशासन सहायक एक कर्मचारीको मृत्यु भएको इजिप्टको विदेश मन्त्रालयले पुष्टि गरेको छ । उनी घरफिर्तीको प्रक्रियामा सहभागी हुन दूतावास आउँदै गरेको बेला आक्रमणमा परेका हुन् । खार्तुमका सडकमा लास यत्रतत्र छरिएका छन् ।

आरएसएफले युद्धविरामको उद्देश्य मानवीय सङ्कट उत्पन्न हुन नदिन तथा देशवासीलाई आवश्यक स्वास्थ्य सेवाका साथै सुरक्षित स्थानसम्मको पहुँच सुनिश्चित गर्न तथा कूटनीतिक नियोगहरूलाई खाली गर्नु हो भनेको छ । प्रतिद्वन्द्वी समूह एसएएफले पनि आरएसएफले युद्धविराम पालना गरेमा आफूले पनि त्यसलाई मान्ने बताएको छ । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...