Admission Open

फ्रान्सेली सिनेटद्वारा पेन्सन सुधार विधेयक पारित

काठमाडौं : राष्ट्रव्यापी विरोधका बाबजुद  फ्रान्सेली सिनेटले पेन्सन सुधार विधेयक पारित गरेको छ । देशको माथिल्लो सदनले शनिबार राति उक्त विधेयक पारित गरेको हो ।

जनतामाझ अलोकप्रिय उक्त विधेयकको पक्षमा एक सय ९५ मत परेको थियो । विधेयकको विपक्षमा एक सय १२ जनाले मतदान गरेका थिए । अब उक्त विधेयकको मस्यौदालाई सदनको एउटा समितिले अन्तिम रूप दिएर अनुमोदनका निम्ति सिनेट र राष्ट्रियसभामा प्रस्तुत गर्नेछ । सम्भवतः आगामी बिहीबार उक्त विधेयक सिनेट र राष्ट्रियसभामा प्रस्तुत हुनेछ ।

प्रस्तुत विधेयक पारित भएमा न्यूनतम सेवानिवृत्तिको उमेर ६४ वर्ष हुनेछ । यसअघि ६२ वर्षमा कर्मचारीले अनिवार्य अवकाश पाउने व्यवस्था थियो । युवावस्थामा सेवा प्रवेश गरेका फ्रान्सेली नागरिकले उक्त विधेयकलाई अनुचित भनेका छन् ।

सरकारीस्तरमा राष्ट्रपति इम्यानुएल म्याक्रोँको दोस्रो पाँचवर्षे कार्यकालको महत्त्वपूर्ण उपलब्धि ठानिएको उक्त विधेयकको धेरैले विरोध गरेका छन् । विधेयक पारित गर्न सरकारसँग संसदीय बहुमत भएकाले त्यसले कानुनी हैसियत पाउने विश्वास प्रधानमन्त्री एलिजाबेथ बोर्नले बताउनुभएको छ । “सयौँ घण्टाको छलफलपछि सिनेटले पेन्सन सुधार योजनालाई स्वीकृत गरेको छ,  यो हाम्रो पेन्सन प्रणालीको भविष्य सुनिश्चित गर्ने एक निर्णायक कदम हो,” उहाँले भन्नुभएको छ ।

विधेयक पारित गर्न सदनमा आवश्यक बहुमत प्राप्त नभएमा संवैधानिक व्यवस्थाअनुसार मतदान बिना नै कानुन बनाउने धारा ४९ (३) प्रयोग हुनसक्नेछ । यद्यपि विवादास्पद उक्त धाराको प्रयोग विरलै हुने गरेको छ । शनिबार विधेयकको विरोध गर्दै देशभर विरोध प्रदर्शन भएका थिए । करिब तीन लाख ६८ हजार मानिस विरोध प्रदर्शनमा उत्रिएका थिए । देशभरका रेलसेवा विधेयकका विरोधमा ठप्प भए पनि राजधानी पेरिसको सार्वजनिक यातायात निर्धारित समयमा नै सञ्चालन भएको थियो । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...