Admission Open

जापानमा कोभिड–१९ लाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झार्ने तयारी

काठमाडौँ, ८ माघ  : जापानका प्रधानमन्त्री फुमियो किशिदाले देशले कोभिड–१९ लाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झार्ने विचार गरिएको जानकारी दिएको सीएनएन समाचार समितिले जनाएको छ ।

किशिदाले यस कदमको नतिजा हेर्न आफ्नो प्रशासन र स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको बताएका छन् । जापानमा अझै पनि प्रतिदिन एक लाख कोरोनाभाइरसका संक्रमतिहरू देखा पर्ने गरेको सीएनएनले जनाएको छ ।

जापानमा हाल कोभिड–१९ लाई दोस्रो श्रेणी दिइएको छ । यो श्रेणी क्षयरोग र एभियन इन्फ्लुएन्जाबराबर हो । अधिकारीहरूले यसलाई मौसमी इन्फ्लुएन्जाको बराबरीमा पाँचौँ स्थानमा राख्ने योजना बनाएका सीएनएनले जापानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ ।

“कोरोनासँग जीवन बिताउने प्रयासलाई अगाडि बढाउन र जापानलाई सामान्य अवस्थामा पुर्‍याउनका लागि हामी हालसम्मका विभिन्न नीति र उपायहरूलाई चरणबद्ध रूपमा परिवर्तन गर्नेछौँ,” किशिदाले भनेका छन् । गत वर्षको अक्टोबरमा जापानले बन्द गरिएका आफ्ना सिमाना विदेशी नागरिकका लागि पुनः खोलेको थियो । सीएनएनका अनुसार यसले विश्वको सबैभन्दा कडा सीमा नियन्त्रणको अन्त्य गरेको थियो ।

कोभिड–१९ बाट मृत्यु हुने वा अस्पताल भर्ना हुने जोखिम अहिले धेरै कम भएको संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले जनाएको छ । अर्कोतर्फ, विश्व स्वास्थ्य संगठनले अझै पनि कोभिड–१९ लाई महामारीका रूपमा गणना गर्छ । आफ्नो पछिल्लो अपडेटमा संगठनले कोभिड–१९ सँगको सम्पर्कमा आएका वा नजिकको सम्पर्कमा आएका मानिसलाई मास्क लगाउन सिफारिस गरेको छ ।

भीडभाड, घेरिएको वा कमजोर भएका जो कोहीलाई पनि मास्क लगाउन सिफारिस गरिएको छ । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...