Admission Open

कमिसनको घनचक्करले थला परेको इनरुवा अस्पतालले त्राण पाउँदै

दह्रो मन र मुटु भएको क्षमतावान व्यक्ति आयो भने बेथितिका चाङलाई ढाल्न समय लाग्दैन ।

‘म जहिलेसम्म यहाँ रहन्छु त्यस समयसम्म कसैलाई पनि होची-अर्घेली नगरी गरिव र निमुखा जनताको सेवामा तल्लीन रहने बाचा गर्छु । साथै सकेसम्म कमिसन र घुसखोरीलाई पनि निरुत्साहित गदैँ लानेछु’ 

– डा. देवराज घिमिरे (मे.सु.) जिल्ला अस्पताल इनरुवा 

दीपक निरौला/इनरुवा :सरकारले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरे तापनि जिल्लामा रहेका धेरै सरकारी अस्पताल रेफर सेन्टरमा परिणत भएका छन् । विरामी घरमा बस्ने । अनि तिनका आफन्त प्रतिनिधि बनेर अस्पताल जाने । ठूला र महंगा अस्पतालको रेफर पूर्जा बोकेर घर आउने अनि विरामीको अवस्था अनुसार अस्पताल जाने । यो कारुणिक कथा एउटा मात्र नभएर देशैभरका सरकारी जिल्ला अस्पतालको साझा समस्या हो ।
नेपाल सरकारले सम्बन्धित क्षेत्रको विषेशज्ञ डाक्टर नियुक्त गरेर पठाएको हुन्छ । तर ती डाक्टर सरकारी अस्पताल नबसेर जजमाने पुरोहित जस्तै सटरमा खोलिएका क्लिनिकदेखि गच्छेअनुसारका अस्पतालमा गएर पुरेत्याईं गर्छन तर सरकारी अस्पतालमा हाटा (हाजिर गरेर टापकस्ने) गर्ने परिपाटी ज्यूँका त्यूँ छ ।

हरेक जिल्लामा नेपाल सरकारले स्थानीय व्यक्तिहरूको सहभागिता हुने गरी ३ वर्षका लागि अस्पताल व्यवस्था सञ्चालक समिति गठन गरेको हुन्छ । त्यसमा २ जना महिलासहित १३ जना सदस्य हुने प्रावधान छ । जिल्ला विकास समितिको सभापति संयोजक, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयको प्रमुख (एसपी) उद्योग वाणिज्य संघको अध्यक्ष, जिल्ला जनस्वास्थ्य कार्यालयको प्रमुखलगायत हुन्छन् ।

जिम्मेवारी पाएर पनि सञ्चालक समितिले सक्रिय भूमिका निर्वाह गरेको पाईदैन । किनभने नियमित रूपमा निगरानी गर्ने हो भने जिल्ला अस्पतालमा बेथितिका चाङको थुप्रो लाग्ने थिएन । अस्पतालमा रहेका पुराना रैथाने पहुँचवाला कर्मचारीहरू एम्बुलेन्सको कमिसनदेखि भवन भाडाको कमिसन, काउन्टरमा जम्मा भएको कमिसनको छाली दुवैहातले चाट्न मस्त छन् । त्यसको मारमा पैसा नहुने गरिव मनुवा पर्ने गरेका छन् ।

सुनसरीको इनरुवा अस्पताल पनि लामो समय कमिसनको घनचक्करले थला परेको थियो । करिव ८÷९ महिना पहिले देवराज घिमिरे नाम गरेका डाक्टर जागिर खान आएका छन् । उनी अहिले सो अस्पतालको (मे.सु. मेडिकल सुपरिटेन्डेन्ट) को रूपमा काम गरिरहेका छन् । उनीभन्दा पहिले कति आए कति गए । वास्तवमा उनी जागिर खानमात्र नभएर यहाँका गरिव र निमुखा जनताको चह¥याएको घाउमा मल्हमपट्टी लगाउने दूतको रूपमा आएको भान हुन्छ । यी शब्दहरू लेखिरहँदा कतिपयलाई चाप्लुसी गरेको, ठूलै कमिसन हातपार्न कसरत गरेको भान पर्ला । तर राम्रो काम गर्ने मान्छेलाई हामीले काम गर्न दिनुपर्छ । हाम्रो मष्तिष्कभित्र रहेको म मात्र भन्ने अहमतालाई हामीले फाल्नै पर्छ, त्याग्नै पर्छ । इनरुवा अस्पतालले सीमान्तकृत, असहाय वर्गका व्यक्तिको उपचार गर्दा ती वर्गको समय र अर्थको समेत बचत भएको छ ।

डा. घिमिरेले कार्यभार सम्हालेदेखि नै यहाँका समस्याका जरा पहिल्याउन तल्लिन रहे । प्रतिफल दिनेखालका समस्यालाई उकेरा लाउदै गए । अनुत्पादक समस्याका जरालाई उखेलेर फाल्न थाले । उनले प्रोत्साहन गरेर उकेरा लाएका समस्याहरू समाधान भएर लटरम्मै फल लाग्न थालेका छन् । भने, केही जरा गाडेर बसेका अनुत्पादक समस्याहरू विस्तारै सुक्दै र ठाउँसर्दै जान थालेका छन् ।

पछिल्लो समय इनरुवा अस्पतालको मुहार हेर्न लायक बनाउने व्यक्ति भनेकै जागिर खान आएका जागिरदार डा। देवराज घिमिरे हुन् । उनी अस्पताललाई आफ्नो सन्तान जतिकै माया गर्छन् । बिरामीको सेवामा चौविसै घण्टा खटिरहन्छन् । नत यिनलाई निन्द्राको चिन्ता, न त कुनै दवावको चिन्ता । केवल अस्पताललाई कसरी उच्चस्तरीय बनाउने भन्ने ध्याउन्नमा सोचमग्न हुन्छन् । चारैतिर कमिसनले चुही रहेका दुला टाल्दैमा उनलाई फूर्सद छैन ।

विशेषज्ञ डाक्टर र गुणस्तरीय सेवालाई प्रभावकारी बनाउने मात्रै उनको सोच रहेको छ । त्यसकालागि मन्त्री, मन्त्रालय, नेता, कार्यकर्ता सबैसँग पौठेजोरी खेल्न पछि पर्दैनन् । पछिल्लो समय भोक्राहा नरसिंह गाउपालिकाका १८ वर्षिय एक युवककोे एपेन्डीसाईडको सफल शल्यक्रिया भएको छ । ठेस लागेर ड्रेसिङ गर्न जाँदा समेत रेफरको कागज थमाउने अस्पताल ठूलो रोगको सफल शल्यक्रिया गरेकोमा इनरुवावासीले गौरवको अनुभूति गरेका छन् । यसरी दिनप्रतिदिन अस्पतालको साकारात्मक समाचार सुन्न पाएकोमा इनरुवा ५ बलाहाका स्थायी वासिन्दा सुजाता सुवेदी दुलाल साह्रैनै हर्षित छिन् । उनका पति दुलाल ल फर्मका सञ्चालक तथा अधिवक्ता मणिराज दुलाल सोडियमको कमीले इनरुवा अस्पताल भर्ना भएका थिए । विशेषज्ञ डाक्टरको राम्रो सेवा पाएर स्वस्थ भएपछि खुसी हुँदै उने भने, राम्रो मान्छेले पायो भने देश बनाउन समय नलाग्ने रहेछ ।
एक जुगमा एकदिन एक पटक आउँछ भनेझैं दह्रो मन र मुटु भएको क्षमतावान व्यक्ति आयो भने बेथितिका चाङैचाङलाई ढाल्न समय लाग्दैन रहेछ दुलालले थपे।

यसरी सेवाग्राही/बिरामी र स्थानीयवबासीको कुरा सुनाउँदा डा. घिमिरे भन्छन्, मैले त आफ्नो कर्तव्य निर्वाह गरेका मात्रै हँु । केही ठूलो काम गरेको छैन तर साँचो करा चाहिँ के भने मैले केही हदसम्म बेथितिको चिरफार भने पक्कै गरेको छु र म जहिलेसम्म यहाँ रहन्छु त्यस समयसम्म कसैलाई पनि होची-अर्घेली नगरी गरिव र निमुखा जनताको सेवामा तल्लीन रहने बाचा गर्छु । साथै सकेसम्म कमिसन र घुसखोरीलाई पनि निरुत्साहित गदैँ लानेछु ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...