Admission Open

भारतलाई बिजुली बेचेर एक महिनामा प्राधिकरणले कमायो एक अर्ब ७२ करोड

काठमाडौं : गरे के हुँदैन ! केही वर्ष अघिसम्म नेपाल आफैँ चरम लोडसेडिङमा थियो । बिजुली खरिद गरेर ल्याउँदासमेत दैनिक १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो ।

प्राधिकरणभित्र मौलाएको अराजकता नियन्त्रण हुनुको साटो थप विस्तारित भएको थियो । नागरिक चरम अँध्यारोमा बस्न बाध्य थिए । औद्योगिक क्षेत्र ध्वस्त थियो । नेपालमा उद्योग स्थापना गर्नुभन्दा पैसा बैंकमा राखेर ब्याज लिनु नै सबैभन्दा उत्तम विकल्प हुन्थ्यो ।

पछिल्ला पाँच वर्षमा नेपालको ऊर्जा क्षेत्रका गुणस्तरीय परिवर्तन भयो । रुग्ण अवस्थामा रहेका आयोजना एकपछि अर्को गर्दै निर्माण सम्पन्न भए । ठूला क्षमताका प्रसारण लाइन पनि निर्माण सम्पन्न भए । झण्डै रु ३५ अर्ब बराबरको सञ्चित घाटा भएको नेपाल विद्युत् प्राधिकरणको मुनाफामात्रै वार्षिक रु १२ अर्ब बढी हुन थाल्यो ।

पछिल्ला आर्थिक वर्षमा त सरकारी संस्थानमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्थानका रूपमा प्राधिकरण स्थापित भएको छ । आन्तरिकरूपमा बिजुली बिक्री तथा वितरण गर्दै प्राधिकरण अब योजनाबद्धरूपमा बिजुली निर्यात गर्ने अवस्थामा पुगेको छ ।

गत वर्षको लक्ष्मी पूजाको दिनदेखि ३९ मेगावाट बिजुली भारत पठाएर व्यापार सुरु गरेको प्राधिकरणले गत जेठ १९ अर्थात् जुन २ तारिखदेखि दैनिक ३६४ मेगावाट बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद रु एक अर्ब ७२ करोड ३० लाख बराबरको विद्युत बिक्री गरेको छ । पछिल्लो एक महिनाको विवरण हो यो । प्राधिकरणले आगामी छ महिनासम्म बिजुली बिक्री गर्नेछ ।

प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठदेखि आइएक्समा बिक्री सुरु गरेको थियो । सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट विद्युत् दैनिकरूपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठदेखि दैनिकरूपमा ३६४ मेगावाट विद्युत् भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

नेपाल विद्युत् प्राधिकरणले भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणबाट छवटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई स्रोत मानी ३६४ मेगावाट विद्युत् आइएक्स मार्केटमा बिक्री गर्न स्वीकृति पाएको छ ।

जेठ र मध्य असारसम्म हेर्दा मात्रै १७ करोड ८१ लाख ९१ हजार युनिट विद्युत् भारतीय बजारमा बिक्री गरिएको छ । प्राधिकरणले यस अवधिमा भारतमा बिक्री गरेको विद्युत्बाट सम्पूर्ण शुल्क कटाएर खुदरूपमा रु एक अर्ब ७२ करोड ३० लाख कमाएको छ ।

जुन महिनामा प्रतिस्पर्धी बजारमा बिक्री गरिएको विद्युत्को औसत प्रतियुनिट दर नौ रुपैयाँ ६७ पैसा छ । आइएक्समा २४ घण्टालाई १५–१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...