Admission Open

नाडा अटो शोको तयारी तिब्र, स्टल बुकिङमा अटो व्यवसायीको आकर्षण

काठमाडौं : नाडा अटोमोवाइल्स एसोसियसन अफ नेपाल (नाडा)द्वारा आगामी भदौ ७ देखि १२ गतेसम्म आयोजना गरिने ‘नाडा अटो शो २०२२’को तयारी तिब्र बनाइएको छ । यसैक्रममा गत हप्ता खुल्ला गरिएको स्टल बुकिङका लागि रजिष्ट्रेशनमा उल्लेखनीय सहभागिता रहेको नाडा अटो शो समिति सभापति अनुप कुमार बरालले जानकारी दिए ।

‘चार दिनका लागि खुल्ला गरिएको रजिष्ट्रेशनमा दुई दिनमै सम्पूर्ण सम्भावित सहभागी कम्पनीहरुको दर्ता भइसक्यो,’ उनले भने । गोला प्रथाबाट बिहीबार सहभागी कम्पनीहरुलाई स्टलको छनोट एवं बाँड–फाँड गरिएको छ । सबै कम्पनीहरुको प्रतिनिधि, प्रदर्शनी व्यवस्थापन कम्पनी ग्लेबल एक्स्पोजिशनका प्रतिनिधि, नाडा कार्य समिति पदाधिकारी सदस्य एवं नाडा अटो शो कमिटीका सदस्यहरुको उपस्थितिमा गोला प्रथा गरिएको हो ।

विगतका संस्करणहरु भन्दा पृथक यस वर्ष कमर्शियल भेहिकलहरुको सहभागिता रहनुका साथै विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने उदेश्यले छुट्टै दुई पाँग्रे इलेक्ट्रिक पेभिलियन समेत राखिने बताइएको छ ।

कोभिड महामारीका कारण दुई वर्ष पछि आयोजना गर्न लागिएको प्रदर्शनीमा अटो व्यासायीहरुको भव्य सहभागिताले आयोजक नाडा प्रोत्साहित हुनुका साथै सुस्ताई रहेको अटो व्यवसाय चलायमान हुनेमा आयोजक विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ ।

अटो व्यवसायीहरुको प्रोत्साहन, बजार सर्वेक्षण एवं नयाँ ब्राण्डहरुको प्रक्षेपणकालागि समेत नाडा अटो शो अपरिहार्य रहेको बरालले बताए । ‘अटोमोबाइल क्षेत्रमा भइरहेका नवप्रवर्तन, आविष्कार, भविष्यका सवारी साधनका परिकल्पना, इन्जिनियरिङ, म्यानुफ््याक्चरिङ, कम्पनीहरुका विज्ञ एवं जानकारहरुसंगको छलफल तथा अन्तक्रिया समेटिएको संगोष्ठी यस वर्षको विशेष आकर्षण हुनेछ,’ उनले भने ।

टिप्पणिहरु
Loading...