काठमाडौं : सरकारले आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले जारी गरेको सूचनाअनुसार इदउल फित्रका अवसरमा बिदा दिइएको हो ।
मुसलमान समुलायले इदगाहमा गएर सामूहिक नमाज (प्रार्थना) गरी मनाउने यो पर्वमा मुसलमान समुलायका मानिसले एकआपसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गर्ने प्रचलन रहेको छ।
गएको चैत २० गतेदेखि सुरु भएको रमजान आजैबाट सम्पन्न हुँदैछ । एक महिनासम्म चल्ने यो पर्वमा समुलायका मानिस दिनभर निराहार (रोजा) बस्ने र बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि भोजन लिने गर्दछन् ।
रमजान उर्दु क्यालेण्डर अनुसार हिजरी सम्वत् १४४३ हो भने रमजान नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।
दान दिनु, गरिब तथा दिन दुःखीको सेवा गर्नु र जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । शरीरलाई चोखो राखेर मात्र रोज बस्नुपर्छ । कुलतमा लागेका मानिस एक महिना इमान्दारिपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउनसक्ने अनुमान गर्न सकिन्छ ।
त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्ने काम गर्वका साथ गर्ने गर्दछन् । नबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई भने रोजा बस्न अनिवार्य छैन । यस पर्वमा बिर्यानी, पुलाउ, सेबइ, दुग्धजन्य पदार्थ, मासुका परिकार, फलफूल आदि खाने प्रचलन छ ।