Admission Open

ad place

युक्रेनबारे रुस र अमेरिकी विदेशमन्त्रीहरूबीच खुला वार्ता

एजेन्सी : रुस र अमेरिकाका विदेशमन्त्रीहरूले युक्रेनमा द्वन्द्वको सम्भावनालाई कम गर्नका लागि आपसमा ‘खुला’ वार्ता गरेका छन्। रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनी सीमामा तैनाथ सेनालाई युक्रेनमाथि आक्रमण गर्न प्रयोग गरिने कुरालाई फेरि अस्वीकार गरेका छन् ।

यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि अमेरिकी भनाइ दोहोर्‍याउदै आक्रमण भए अमेरिका चुपचाप नबस्ने र कडा प्रतिक्रिया दिने बताएका छन् ।

युक्रेनले सन् २०१४ मा रुस समर्थक राष्ट्रपतिलाई पदबाट हटाएको थियो । यसबाट आक्रोशित रुसले दक्षिणी युक्रेनको क्रिमिया प्रायद्वीपलाई आफ्नो कब्जामा लिएको थियो ।

रुसले त्यहाँ पूर्वी युक्रेनको ठूलो भूभाग कब्जा गर्ने पृथकतावादीहरूलाई समर्थन गरेको छ। त्यसयता रुस समर्थक विद्रोही र युक्रेनी सेनाबीचको भिडन्तमा १४ हजारभन्दा बढी मानिस मारिएका छन् ।

विद्रोही र युक्रेनी सेनाबीचको द्वन्द्व आज पनि जारी छ । अहिले यी दुईबीच युद्धविराम चलिरहेको छ । अमेरिका र उसका सहयोगीहरूले रुसले कुनै आक्रमण गरे चुप लागेर नबस्ने, कारबाही गर्ने र रुसमाथि नयाँ प्रतिबन्ध लगाउने बताएका छन् ।

यस विषयमा अमेरिकाले अर्को साताभित्र लिखित रूपमा आफ्नो अडान स्पष्ट गर्ने र त्यसपछि मात्रै युक्रेन संकटबारे थप छलफल हुने सम्भावना छ ।

योसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकहरुसामु धेरै माग राखेका छन् । उनले ती देशहरूलाई युक्रेनलाई कहिले पनि नाटोको सदस्य बन्न नदिन र नेटो गठबन्धनले पूर्वी युरोपमा हुने सबै सैन्य गतिविधि त्याग्न आग्रह गरेका छन् ।

टिप्पणिहरु
Loading...