Admission Open

नेपाल, चीन र भारत बीचमा संतुलित सम्बन्ध कायम रहिरहनु पर्छ

# दीर्घराज प्रसाई

नेपाल, चीन तथा भारत दुई ठूला राष्ट्रहरुकोबीचमा अवस्थित भएकाले नेपालले चीन तथा भारतसँग संतुलित सम्बन्ध कायम राख्न सक्नु नैं नेपालको सफल परराष्ट्र नीति हो । राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपाललाई ‘दुई ढुंगा वीचको तरुल’ भनेर नेपालको परराष्ट्र नीतिको आधारशीला प्रस्तुत गरेका थिए । चीन तथा भारतसँग नेपालले संतुलित सम्बन्ध कायम राख्न नसकेको अवस्थामा नेपालको राष्ट्रियता मात्र होइन समस्त एशियामा शान्ति खल्बलिन सक्छ । त्यसैले नेपालमा जस्तोसुकै शासन व्यवस्था कायम रहिरहे तापनि नेपालको नेतृत्वतहमा रहेकाहरुले सबैभन्दा पहिला यी दुई छिमेकी देशसँग सुमधुर सम्बन्ध कायम राख्ने कुरामा परराष्ट्र नीति केन्द्रीत गराउन सक्नु पर्छ । कुनैबेला सत्तापक्षले चीनसँग मात्र सम्बन्ध कायम राख्नमा आप्mनो फाइदा देख्छ अथवा भारतसँग एकपक्षीय सम्बन्ध राख्न खोजिन्छ भने दुईृ देशबीच तानातान भएर यसैबाट नेपाललाई संकट आइलाग्न सक्छ । त्यसो भएकोले नेपालको पराराष्ट्र नीति सत्तापक्षको लहडमा संचालन गर्न खोजिनु हुन्न । चीन र भारतबीचमा प्राचीन समयदेखि नेपालसँग सुमधुर सम्बन्ध कायम रहँदै आएको छ । नेपाल, चीन र भारत बीचको मैत्री सम्बन्ध मूख्य रुपमा धर्म, संस्कृति, ब्यापार तथा वैवाहिक आधारमा विकसित हुँदै आएको हो ।

चीनका सम्राट स्रोङचन गम्पोसँग नेपालकी राजकुमारी भृकुटीको वैवाहिक सम्बन्ध कायम भएको अवस्था र हिमवतखण्ड नेपालको बढ्दो प्रतिष्ठाबाट प्रभावित भएर भारतमा गुप्तकालका राजाहरू नेपालका लिच्छवी राजाकी छोरीसँग विवाह गरेर आफ्ना मुद्राहरूमा ‘लिच्छविय’ ‘लिच्छवि कन्या दौहत्री’ उल्लेख गरेका तथ्यहरूबाट थाहा हुन्छ नेपालका यी दुई ठूला छिमेकी राष्ट्रहरूसँगको सुमधुर सम्बन्ध कायम थियो । चीन तथा भारतसँग हिन्दु तथा बौद्ध धर्म मूख्य कारक बनेको छ । पौराणिककालदेखिका अनेकौं प्रमाणित घटनाहरूको अध्ययन गर्दा नेपालको सार्वभौमसत्ता र प्रतिष्ठालाई चीन तथा भारतबाट सम्मान हुँदैआएको छ । बाह्रौं शताब्दीमा चीनका बादशाहको आग्रहमा नेपालबाट अरनिकोलाई झिकाएर स्तुप तथा प्यागोडा शैलीका दरबार बनाएको र महेन्द्र मल्लको समयकालदेखि भोटमा नेपालको मुद्रालाई चलनचल्तीमा ल्याएको थियो । यी तथ्यहरूको कारणले एशियामा नेपालको आफ्नै पहिचान र प्रतिष्ठा स्थापित भएको छ । अहिलसम्म बेइजिङमा अरनिकोबाट निर्मित बौद्ध गुम्बालाई बडो सम्मानकासाथ राखिएको छ । अहिलेसम्म बेइजिङको लामा टेम्पल एउटा सुजज्जित बौद्ध स्थलको रुपमा चिनिन्छ । यसक्षत्रको बौद्ध मन्दिर र त्यो क्षेत्रमा नेपालको प्यागोडा शैलीका भवनहरू ठडिएका छन् । त्यसक्षेत्रमा ‘ओम मणि पद्ये हुम्’ को मन्त्रबाट मन्दिरभित्र र मन्दिर आसपासका सडकसडकमा गुञ्जयमान गराउने गरिन्छ । बेइजिडमा अरनीकोको शालिकसमेत राखिएको र अरनिकोबाट निर्मित मन्दिरअगाडि नेपाली, चीनिया, अंग्रेजी भाषाको शीलालेखसमेत राखिएको देख्दा नेपाल–चीनबीचको सौहार्दता यसबाट झल्किएको स्पष्ट हुन्छ । शान्तिपूर्ण सहअस्तित्वको कदर यसैबाट हुन्छ । नेपाल भूपरिवेष्टित मुलुक हो । भूपरिवेष्टित मुलुक भएपनि जन्मकालदेखिनैं यसले आफ्नो सार्वभौमसत्तालाई सौदावाजी गर्न कसैलाई दिएको छैन । नेपाल, चीन र भारतबीचमा सुमधुर मैत्री सम्बन्धको आधार धर्म, संस्कृति नैं बनेको हो । किरातकालदेखिनैं नेपालको आर्थिक, सामाजिक र धार्मिक जीवनकोक्रम बसिसकेको थियो भन्ने कुरा बुद्धग्रन्थ ‘मूुल सर्वास्थिवाद विनय संग्रह’ तथा ‘कौटिल्यको अर्थशास्त्र’ बाट थाहा हुन्छ । नेपालका विभिन्न राजवंशहरुले भोट, चीन, भारत र अन्य देशहरुसँग ब्यापारिक सम्बन्ध कायम गरेको र भारतवर्षमा अयोध्याका युवराजा रामको बिवाह यसक्षेत्रका जनक राजाकी छोरी सीतासँग भएको थियो । महान अशोक वौद्ध धर्मप्रति आस्थावान भएर वुद्धको जन्मथलो लुम्विनी आएका र आफ्नी छोरी चारुमतिको बिवाह नेपालका राजा देवपालसँग गराएका थिए । एशियामा नेपाल र भारतखण्ड दुई यस्ता हिन्दु राज्यहरू हुन् जसको प्राचीन गौरव र प्रतिष्ठाको वर्णन विश्वव्यापीरुपमा पाइन्छ । तर दक्षिण तर्फको राजनीतिक परिवर्तनको प्रभावबाट नेपालमा सर्वाधिक असर पर्ने गरेको छ । भारतमा अंग्रेजी साम्राज्यले जग हाली सकेको थियो । अग्रेजहरू अन्य मुलुकमा पस्दा पहिलो ब्यापार, दोस्रो बाइबल, तेस्रो बुलेट लिएर पस्ने गर्थे । नेपालमा पनि ब्यापार, बुलेट प्रयोग गर्नुभन्दा बाइबल र पैसालाई केन्द्बिन्दु बनाएर प्रवेश गरेको थियो । नेपालमा आफ्नो प्रभूत्व कायम गर्न सक्ने नदेखेता पनि भोटसँग ब्यापार बढाउने निहुँमा नेपालमा अप्रत्यक्ष रुपमा आफ्नो प्रभूत्व जमाउन छोडेको थिएन । अंगे्रजहरू ठन्डी मुलुकमा बस्न चाहने भएकाले नेपाल जस्तो स्वस्थकर ठाँउको खोजीमा थिए । त्यसकारणले नेपालका स–साना राज्यहरूलाई कब्जा गर्न अंग्रेजहरूले आँखा लगाइरहेका थिए । यसअवस्थामा पृथ्वीनारायण शाहको विशाल नेपालको एकीकरणको महान यज्ञलाई समाप्त पार्न कान्तिपुरका राजा जयप्रकाशलाई सघाउन कर्नेल किल्लोकको नेतृत्वमा २४०० अंगे्रज पल्टन पठाएको थियो । तर अंग्रेजी पल्टनलाई पृथ्वीनारायण शाहका फौजले आक्रमण गरेर भगाएका थिए । यसरी फिरङ्गीहरूको आक्रमणबाट बचाएर ठूलो प्रयत्नबाट पृथ्वीनारायण शाह र त्यसपछि उनका कान्छा छोरा बहादुर शाहको नेतृत्वमा ५४ ससाना हिन्दु राज्यहरूलाई एकीकृत गरेर विश्वको एक मात्र हिन्दु अधिराज्य स्थापित भएर विशाल नेपालको सिर्जना भएको थियो ।

भारत स्वतन्त्र बनाउन नेपालीहरूले पनि रगत पसिना बगाएको इतिहास छ । नेपाली जनता र भारतीय जनता वीचमा गहिरो सम्बन्ध कायम छ । चीन र भारत नेपालका लागि नजिकका राष्ट्र भएकाले अव नेपालले भारतलगायत चीनसँग पनि नेपालको आवश्यकता दर्शाएर पारवहन र वाणिज्य सम्बन्धलाई बिस्तार गर्न सक्नुपर्छ । तर चीनसँग नेपालले पारवहन तथा वाणिज्य सम्बन्ध बिस्तार गरेमा भारतलाई कुनै अप्ठारो पर्ने होइन । चीनसँग नेपालको प्रारम्भदेखि नैं मैत्री सम्बन्ध कायमहुँदै आएकोले नेपालले चीन तथा भारतसँग सन्तुलित सम्बन्ध कायम गर्नको लागि पनि हरउपाय साध्न सक्नु पर्छ । नेपालले पनि चीनको सार्वभौम मान्यतालाई खल्बल्याउने काम गरेको छैन । सन १९७१ मा चीनले संयुक्त राष्ट्रसंघको सदस्यता लिन नेपालले राम्रो भूमिका खेलेको थियो । चीनले पनि नेपालको आर्थिक विकासका निम्ति धेरै सहयोग उपलब्ध गराएको छ । चीनमा २०१३ सालमा पहिलो सरकार प्रमुख टंकप्रसाद आचार्य र २०१६ मा बीपी कोइरालाबाट भएको थियो । वि.सं. २०१८ सालमा पहिलो राष्ट्रप्रमुखको रुपमा राजा महेन्द्रबाट चीनको राजकीय भ्रमण भएको थियो । राजनीतिक परिवर्तनको क्रममा २०४८ सालमा प्रधानमन्त्रीको हैसियतमा गिरिजाप्रसाद कोइराला लगायत प्रधानमन्त्रीको हैसियतबाट नेकपा (एमाले) का नेता मनमोहन अधिकारीको औपचारिक भ्रमणलगायत त्यसपछिका सरकार प्रमुख तथा मन्त्रीस्तररीय प्रतिनिधि मण्डलको भ्रमणबाट चीन र भारतबीचमा सुमधुर मैत्री सम्बन्ध कायम हुन सकेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालसँग सुमधुर सम्बन्ध कायम राख्ने निहुमा नेपालका सत्तासीन पार्टीका नेताहरुसँग समझदारी बढाउन खोज्नु समाधानको बाटो नहुन सक्छ । २०६३ सालदेखि २०७८ सालसम्मका सत्तासीन पार्टीहरू कांग्रेस (आई) को मार्गदर्शन–धर्मनिरपेक्ष, गणतन्त्र र संघीयताको बाटोमा हिडेका छन् । यिनीहरूले भाजपालाई विश्वास नगर्लान् । नेपाल भारतबीचका असमान सन्धिहरू, खुल्ला सिमाना र त्यसका संस्थालाई कसरी निराकरण गर्ने, लिपुलेख लगायत कालापानी समस्या समाधान गर्ने पहल गरी नेपालमा परेको मर्का समाधान गर्न पहल गर्न चाहनु भयो भने नेपाल भारतबीचको सम्बन्ध दिगो र चिरस्थायी हुन्छ । हिजोका दिनमा जस्तो नेपाल भारतबीचमा जसरी असमझदारी बढ्दै जानलागेको थियो । अव त्यस्तो नगरेर नेपाल तथा भारत दुबै देशका सरकारबीचमा नेपाल तथा भारतसँगको सौहार्दपूर्ण नेपाल भारत नीति तर्जुमा गरेर नयाँ नीति दिनसक्नु पर्छ । त्यत्ति मात्र होइन, एशियामा स्थायी शान्ति कायम राख्न नेपाल, भारत तथा चीनले संयुक्त, रुपमा स्थायी मित्रता बढाउने वातावरण तयार गर्न प्रयत्न गरेमा एशियाको लागि नैं उपलब्धि बन्नेछ । नेपाल, चीन र भारतबीचमा कुटनीतिक सम्बन्ध राम्रो हुन सकेमा पश्चिमाहरूले नेपाल, चीन तथा भारतमाथि आक्रामक दृष्टि राख्न सक्तैन् । नेपाल, चीन र भारतबीचको सौहार्दता भनेको सिङ्गो एशियाको समृद्धि हो । हो, छिमेकीहरुबीचमा कहिलेकहिले मनमोटाव हुनसक्छ । तर त्यसलाई बढ्न नदिएर समस्याको सामाधान गरिहाल्न तत्पर हुनसक्नु पर्छ ।

भारतमा कांग्रेस (आई)को सत्ता ढलेर भारतीय हिन्दुवादी राष्टवादी भारतीय जनता पार्र्टी (भाजपा) ले अत्यधिक मत लिएर २०७१ सालदेखि नरेन्द्र मोदीको नेतृत्वको सत्तामा छ । भाजपाको नेतृत्व मोदीको सरकार नेपालमा हिन्दु अधिराज्य र राजसंस्था यथावत रुपमा रहिरहोस् भन्ने ठान्छ । भारतमा रहेका अनेकौं हिन्दु धाम र तीर्थस्थलहरू र त्यस्तै नेपालमा पशुपतिनाथ लगायत मुक्तिनाथ, जानकीधाम आदिमा नेपाली जनता र भारतीय जनताबीचको आवतजावतले ठूलो महत्व राख्छ । त्यसमा पनि सबैभन्दा ठूलो महत्व भारतका कैयौं धामहरूमा पूजाआजाको नेपालका राजाको विशेषाधिकार भएकालेले पनि हिन्दुवादी राष्ट्रवादी पार्टी भाजपा नेपालमा राजसंस्था यथावत रुपमा रहिरहोस् भन्ने ठान्छ । वास्तवमा नेपालमा राजसंस्था र हिन्दु अधिराज्य रहिरहेमा नेपाल भारतबीचमा अरू सुमधुर सम्बन्ध कायम रहिरहने छ । त्यस हिसावले नेपाल भारतको अनुकूल छ । तर केहिदिनदेखि नेपाल भारतबीचमा मोदी सरकारले नेपालको पश्चिमी सीमानामा कालापानी, लिपुलेकको गलत फहमीका कारणले नेपाल भारत सम्बन्धमा केही चीसोपन देखिन थालेको छ । वास्तवमा भाजपा तथा मोदी सरकारले सत्य तथ्यलाई बुझेर नेपाल भारतको सीमाना काली नदी लिम्पियाधुरा हो ।

लिपुलेकमा २०१८ सालमा भारत चीनको युद्ध हुँदाको अवस्थादेखि भारतीय सेना अपरझट लिपुलेकमा अड्डा जमाएर बसेका थिए । त्यसपछि भारतीय सेनाले लिपुखोलालाई काली नदी बनाएर लिपु खोलाको शिरमा काली भगवतीको मन्दिर बनाएर यही हो । काली नदी भने कृत्रिम काली नदी बनाएको कुरालाई नरेन्द्र मोदीले उत्सुकता राखी सत्यतथ्य बुझ्न सक्नुपर्छ । सत्यतथ्य नबुझी लिपुलेकबाट भारतले बाटो बनाउनु राम्रो हुन्न । हो, लिपुलेकबाट कैलासमानसरोवर जाने बाटोको आवश्यकता हो भने नेपाल भारत दुबै देशको समझदारी भएको हुनुपर्छ । समझदारी भएपछि मात्र बाटो बनाइनु उचित हुन्छ । तर जवरजस्ती हुनुहुन्न । यसको लागि सर्वप्रथम भारतीय सेना लिपुलेखबाट फर्किनुपर्छ । त्यसपछि नेपाल भारतकाबीचमा कहिले पनि गलत फहमीहरू स्वत समाप्त हन्छन् । त्यसो भएकाले नरेन्द्र मोदीले कालापानी, लिपुलेकको वास्तविकता बुझेर देखा परेको गलतफमी आफैँले उत्सुकता राखी बढ्न दिनु हुन्न ।

नेपाल–भारत दुबै देशका धाम, मठ, मन्दिर, गुम्बाहरूको संरक्षण गर्न दुबै देशले खास योजना बनाएर यो क्षेत्रको सांस्कतिक पहिचान बचाएर विश्वभर यो क्षेत्रको महत्व बुझाउन सक्नुपर्ने आवश्यकता छ । यसको लागि नेपाल र भारत बीचमा उच्चस्तरीय संयुक्त धार्मिक–सांस्कृतिक समिति गठन गरिनुपर्छ । यसक्षेत्रका सास्कृतिक मान्यताहरू बीच सौहार्दता कायम गर्न दुबै राष्ट्रका राजदूताबासमा उच्चस्तरीय नियोगको व्यवस्था गरेर दुबै राष्ट्रका धार्मिक स्थल् धाम, मन्दिर, पीठ तथा गुम्बाहरूमा तीर्थयात्रीहरू र पर्यटकहरूको आवतजावतमा सुव्यवस्था कायम गर्न धार्मिक सुव्यवस्थापन समितिहरू गठन गरी विश्वभरका ॐकार हिन्दु परिवारको तीर्थयात्रामा सुरक्षा, आवास, खानपिनको सुव्यवस्था गरी त्यस्ता धार्मिक क्षेत्रको अस्मितालाई अरू सुदृढ राख्न सक्नुपर्ने आवश्यकता छ । राजनीतिक परिवर्तनका सन्दर्भमा भारतसँग नेपालको कहिलेकहिले कहिँ कतै कुनै अफवाह देखापरे तापनि अवका दिनमा नेपालले चीन तथा भारतसँग संतुलित तथा सुमधुर सम्बन्ध कायम राख्न सक्नुपर्छ । चीन र भारतसँगको संतुलित मैत्री सम्बन्ध नैं नेपालको परराष्ट्र नीतिको सफलता पनि हो ।

टिप्पणिहरु
Loading...