Admission Open

स्वास्थ्यचौकीमा अत्यावश्यक औषधिनै छैन

दाने बोहरा/सिमकोट : अत्यावश्यक औषधिमध्येको सिटामोल यतिबेला हुम्लाको सर्केगाड गाउँपालिका–४ स्थित साया स्वास्थ्यचौकीमा पाइँदैन ।

नेपाल सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा पर्दै आएका छन् । साया स्वास्थ्यचौकीमा बिरामी उपचारका लागि जाँदा सामान्य सिटामोलसमेत नपाउने गरेको गुनासो गर्न थालेका छन् । मौसमी ज्वरोका कारण गाउँमा अधिकांश बालबालिका र वृद्धवृद्धालाई बढी समस्या बनाएको स्थानीयवासीको गुनासो छ ।

स्वास्थ्यचौकीमा औषधि पाइन छाडेपछि सर्केगाडका सर्वसाधारण्लाई सास्ती खेप्नु परेको स्वास्थ्यकर्मीले बताएका छन् । कोरोना भाइरस संक्रमण (कोभिड १९) का विरामीका लागि पनि अत्यावश्यक औषधि मानिने सिटामोलको अभाव देखिएको छ भने ज्वरोका विरामीहरु औषधि नपाएर घर फर्किनु परेको अवस्था आइपरेको स्वास्थ्यकर्मीको भनाइ छ । स्वास्थ्यचौकीमा उपचार तथा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले औषधि छैन भन्दै फिर्ता पठाउने गरेका छन् । सो स्वास्थ्यचौकीमा दैनिक १५ देखि २० जनासम्म बिरामी उपचार गर्न जाने गरेको बताइएको छ ।

पछिल्लो समय मौसममा आएको परिवर्तनका कारण सो स्वास्थ्य संस्थामा ज्वरोका बिरामी बढेका छन् ।

“केही औषधि पसलहरूले समेत सिटामोल आफ्नो नजिकको ग्राहकलाई दिन स्टक गरी राख्दा उपलब्धतामा थप समस्या देखिएको हो” स्वास्थ्यचौकीका अनमी बिजौरा शाहीले भनिन् । व्यवस्थापनमा सरकारी निकायका कमजारीले देशभर जीवनरक्षक औषधि अभाव रहेको आरोप स्थानीयवासीको छ । “गाउँभरि सिटामोलको अभाव छ । स्वास्थ्य चौकीमा समेत सिटामोल छैन, उनले भनिन्।

गाउँपालिकाको दूरदर्शिता नभएकाले यो समस्या आएको स्वास्थ्यकर्मीको आरोप छ । सिटामोल जस्तो अत्यावश्यक औषधि नहुनुमा गाउँपालिकाले समयमै यसतर्फ ध्यान नदिनु मुख्य कारण भएको स्वास्थ्यकर्मीको भनाइ छ । सो स्वास्थ्यचौकीमा अस्थायी साधनसँग सम्बन्धित पिल्सहरु पनि नभएको अनमी बिजौरा शाहीले बताइन् । यसका साथै सलायन पनि नभएको उनको भनाइ छ । प्रायः टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्छलगायतका समस्या लिएर स्वास्थ्यचौकीमा आउनेहरु सिटामोल, एमोसिलिनजस्ता औषधि नहुँदा थप समस्या बनाएको शाहीले बताइन् । यस्तै हिउँदको समयमा दमका बिरामी स्वास्थ्यचौकीमा बढी आउने गरेको भए पनि उनीहरुलाई चाहिने आवश्यकपर्ने औषधिसमेत नभएको बताइएको छ ।

स्वास्थ्यचौकीका अहेब धर्मराज शाहीका अनुसार, औषधि अभाव हुँदा नागरिकको गाली आफूहरुले खानुपर्ने अवस्था आएको बताए । उपचारका लागि आएका बिरामीलाई औषधि छैन् भन्दा जानेबुझेका फिर्ता हुने गरे पनि नबुझेका केहीले गाली गर्नेको उनको भनाइ छ ।

स्वास्थ्यचौकीमा औषधि अभाव भए पनि आफूहरु नियमित कार्यालयमा आउने गरेको र उपचारका लागि यहाँ आउने बिरामीलाई औषधि छैन भन्दा उनीहरुले रिसाउने र गाली गर्ने गरेको उनले बताए । औषधि अभाव हुँदा अहिले आफूहरुको काम कार्यालय खोल्ने र बन्द गर्ने काम मात्र भएको उनको भनाइ छ । (रासस)

टिप्पणिहरु
Loading...