काठमाडौँ, १८ कार्तिक
आईसीसी टि-२० विश्वकप अन्तर्गत बुधबार भएको सुपर-१२ चरणको समुह ‘२’ अन्तर्गतको खेलमा अफगानिस्तानलाई ६६ रनले पराजित गर्दै भारतले टि-२० विश्वकप २०२१ मा पहिलो जित दर्ता गरेको छ। ६६ रनको विशाल जित पछि भारतको नेट रननेटमा सुधार आएको छ ।
सेख जायद स्टेडियम अबुधाबीमा टस हारेर ब्याटिंगको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा २ विकेट क्षेतीमा २१० रन बनाएको थियो। टि-२० विश्वकप इतिहासमा भारतको यो दोश्रो ठूलो योगफल हो भने विश्वकप इतिहासकै छैठौं ठूलो योगफल हो। यस अघि भारतले इंग्ल्यान्ड बिरुद्ध २००७ मा सर्वाधिक २१८ योगफल बनाएको थियो।
भारतको लागि रोहित शर्माले ४७ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ७४ रन बनाए भने केएल राहुलले ४८ बलमा ६ चौका र २ छक्का मद्दतले ६९ रन बनाए। यस्तै हार्दिक पान्ड्याले १३ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै अविजित ३५ रन बनाए भने रिशभ पन्तले १३ बलमा १ चौका र ३ छक्का मद्दतले अविजित २७ रन बनाए।
भारतले दिएको २११ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले २० ओभर ब्याटिंग गर्दै ७ विकट क्षेतीमा १४४ रन मात्र बनाउन सक्यो। अफगानिस्तानको लागि करिम जनतले अविजित रहँदै सर्वाधिक ४२ रन बनाए । त्यस्तै मोहम्मद नाबीले ३५ , रहमनुल्लाह गुर्बजले १९, गुल्बदिन नैबले १८, हज्रतुल्लाह जजाईले १३ रन बनाए।
भारतको लागी बलिंगमा मोहम्मद शामीले सर्वाधिक ३, रभीचन्द्रन आश्विनले २ तथा जस्प्रित बुम्राह र रभीन्द्र जडेजाले समान १-१ विकेट लिए। त्यस्तै फगानिस्तानको बलिंगमा गुल्बदिन नैब र करीम जनत ले समान १-१ विकेट लिए।
अफगानिस्ता बिरुद्ध ६६ रनको विशाल जित पछि आफ्नो नेट रन रेटमा सुधार ( खेल अघि -१.६०९ जित पछि +०.८१६ ) गर्दै भारत समुह ‘२’ अंकतालिकाको चौंथो स्थानमा उक्लेको छ । समान २ अंक रहेको नामिबिया नेट रन रेटमा पछि रहँदै पाँचौ तथा जितविहिन स्कटल्याण्ड छैठौं स्थानमा छ। ४ वटै खेलमा जित दर्ता गरेको पाकिस्तान सेमीफाइनल प्रवेश गरिसकेको छ। अफगानिस्तान ४ खेलमा २ जित र २ हार पछि ४ अंक सहित दोश्रो स्थानमा छ भने ३ खेलमा ४ अंकनै रहेता पनि न्युजिल्यान्ड नेट रन रेटमा पछि रहँदै तेश्रो स्थानमा छ।
भारत सेमीफाइनल पुग्न बाँकी दुवै खेलमा स्कटल्याण्ड र नामिबियालाई ठूलो अन्तर पराजित गर्नुपर्नेछ र त्यसको साथै न्युजिल्यान्डले बाँकी दुई खेल मध्ये एउटामा हार बेहोर्नुपर्नेछ। न्युजिल्यान्डले बाँकी दुई खेलमा अफगानिस्तान र नामिबियालाई पराजित गरेको खण्डमा भारत र अफगानिस्तानको सेमीफाइनल पुग्ने सम्भावना समाप्त हुनेछ।